ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस नेताहरु :तस्बिर सौजन्य गजेन्द्र साह ।नेता नेपाली कांग्रेस ।
सर्लाही, साउन-९, जिल्लामा लगातारको खडेरी र सिंचाइ सुविधाको चरम अभावका कारण बसवरिया गाउँपालिकाका किसानहरूले यसवर्ष साउनको पहिलो साता बितिसक्दा पनि धान राेप्न सकेका छैनन् ।
सुख्खा क्षेत्र घोषणा भइसकेको मधेश प्रदेश र विपद् संकटग्रस्त क्षेत्र मानेको संघीय सरकारको निर्णयपश्चात् पनि स्थानीय तहले आवश्यक पहल नगरेको भन्दै नेपाली कांग्रेस बसवरियाले १३ बुँदे ज्ञापनपत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेस बसवरिया गाउँपालिका कार्यसमिति सभापती लालवावु महतोद्वारा हस्ताक्षर गरि बुझाइएको उक्त ज्ञापनपत्रमा किसानहरूको परम्परागत सिचाइ प्रणालीमा आएको अवरोध, विशेषतः मनुष्मारा नदीको अतिक्रमण, नालाको मिसावट र जल प्रवाहमा आएको देखिएको समस्या विषयमा जोड दिइएको छ। यस्ता समस्याले किसानहरूलाई वैकल्पिक रूपमा बोरिंगमा निर्भर हुन बाध्य पारेको छ, तर आर्थिक संकटका कारण उनीहरू थप संकटमा परेको कांग्रेसको
ध्यानाकर्षण पत्रमा भनिएको  छ।ज्ञापनपत्रमार्फत कांग्रेसले १३ मागहरू अघि सारेको छ:
तत्काल थप बोरिंग जडान गर्नुपर्ने, खाद्य, मल र विउ राहतमा उपलब्ध गराउनुपर्ने,कृषि प्राविधिकको व्यवस्था,गर्नुपर्ने,कृषक ऋण मिनाहाकाे पहल गर्नुपर्ने,अनुदानको सुनिश्चितता गर्नुपर्ने ,किसान पेन्सन योजना ल्याउनुपर्ने ,सिंचाइका लागि अल्पकालीन र दीर्घकालीन समाधान उपाय अवलम्बन गरिनुपर्ने ,नदी अतिक्रमण रोकथाम गर्नुपर्ने ,भ्रष्टाचार अनुसन्धान गरिनुपर्ने ,बजेट कार्यान्वयनमा पारदर्शिता कायम गरिनुपर्ने, बोरिंग वितरणमा निष्पक्षता कायम गरिनुपर्ने ,पीडित किसानको तथ्यांक संकलन गर्नुपर्ने  र कृषि क्षेत्रमा विशेष राहत घोषणा गरिनुपर्ने मागहरू समेटिएको छ ।
ज्ञापनपत्रमा गाउँपालिका अध्यक्षमाथि पनि गम्भीर आरोप लगाइएको छ। कांग्रेसले  राहतस्वरूप आएको बोरिंग अध्यक्षकै निजी खेतमा जडान गरेकाे,मानपुर क्षेत्रमा विनियोजित बजेटमा अनियमितता भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । पार्टीले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ज्ञापनपत्रको प्रतिलिपि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र इलाका प्रहरी कार्यालयमा समेत  वोधार्थ पठाइएको उल्लेख छ ।
 तत्काल मागहरू पूरा गरिएनन् भने स्थानीय जनतालाई संगठित गरेर आन्दोलनमा जाने कांग्रेस नेताहरूले चेतावनी दिएका छन् ।त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारको हुने नेपाली कांग्रेस बसवरिया गाउँपालिका कार्यसमिति जनाएको छ।