सर्लाही, साउन १ – जिल्लाको लालबन्दी नगरपालिका–१, नवलपुरमा बिहीवार बिहान करेन्ट लागेर एकजनाकाे मृत्यु भएको छ ।


नवलपुरमा रहेको न्यू माँ राजदेवी खाद्य उद्योगभित्र प्रवेश गर्ने क्रममा ११ हजार भोल्टको तारको सम्पर्कमा आउँदा ट्रकमा सवार एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।


रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानले ट्रकमाथि चढेर तार पन्छाउने प्रयास गर्दा करेन्ट लागेर ज्यान गुमाएका हुन्। इलाका प्रहरी कार्यालय, लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीका अनुसार उनलाई तत्कालै नमूना अस्पताल हरिवन लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।


घटनामा सोही ट्रकमा कार्यरत २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान घाइते भएका छन्, उनीहरूको हरिवनस्थित नमूना अस्पतालमा उपचार जारी छ।


घटनास्थलमा रहेको ना. ६ ख ७५५० नम्बरको ट्रक र त्यसका चालक पर्सा, वीरगन्ज महानगरपालिका–३० का ३९ वर्षीय शेख लाल महम्मद प्रहरीको नियन्त्रणमा छन्। उनी सकुशल रहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।