जनकपुरधाम,असार —३०, मधेश प्रदेशमा आम नागरिक आधारभूत सेवाबाट बञ्चित भइरहेका बेला सरकारका मन्त्रीहरू भने नयाँ गाडी खरिद र कमिसनको खेलमा तल्लिन भएको नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह आरोप लगाएका छन् ।

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका सिंहले साेमवार प्रदेश सभा बैठकमा आफ्नो धारणा राख्दै मधेशका जनता अझै पनि सुशासनको अपेक्षामा रहेको भएपनि सरकारका मन्त्रीहरू मन्त्रालय व्यवस्थित गर्नभन्दा पनि कुन कम्पनीको गाडी किन्न फाइदा हुन्छ भन्नेमा केन्द्रित रहेको आराेप लगाए । “मन्त्रीज्यूहरू हेर्दा मन्त्रालयको अवस्था र जनताको समस्या समाधानभन्दा पनि कसले बढी प्रतिशत कमिसन दिन्छ त्यसमा बढी चासो देखिएको छ,” उनले भने।

सिंहले कर्मचारीहरू पनि जनसेवाभन्दा बढी सरुवा बचाउन पैसा जोहो गर्नमै लागिपरेको बताए। “कर्मचारीहरू मन्त्रालयमा पैसा बुझाउनका लागि दौडधुप गरिरहेका छन्, र जनताको सेवा ओझेलमा परेको छ,” उनले भने ।










