
काठमाडौँ —डा. भगवान कोइरालाले स्थापना गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले एक करोड रुपैयाँ दिएकी छन् ।

महिला सशक्तीकरण र समतामूलक समाज निर्माणको वकालत गर्दै आएकी आचार्यले सोमवार उक्त रकमको चेक केआईओसीएचका संस्थापक डा. कोइरालालाई प्रदान गरेकी हुन् ।

सहरी गरिब, दुर्गम क्षेत्रका बालबालिका र अन्य विपन्न समुदायमा विशेष ध्यान केन्द्रित गर्दै सेवा दिँदै आएको उक्त संस्थाको अभियानमा सहयोग पुगोस् भनेर आचार्यले एक करोड रुपैयाँको चेक कोइरालालाई हस्तान्तरण गरेकी हुन् ।

केआईओसीएचअन्तर्गतको झापास्थित अस्पताल सञ्चालनमा आइसकेको छ भने काठमाडौंको अस्पताल भने निर्माणाधीन छ ।

सकारात्मक सामाजिक परिवर्तनका लागि नागरिकहरू पनि जिम्मेवार बन्नुपर्छ भनेर उक्त रकम सहयोगबापत उपलब्ध गराएको आचार्यले बताइन् ।









