
सर्लाही,भदौ – ५, जिल्लामा विद्युत् प्राधिकरणले तार, पोल व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको छ । प्राधिकरणले गाडेको धेरै पोल जीर्ण र छोटो भएकाले विद्युत् प्रवाह हुने तार भुइँमा लत्रिएर दुर्घटनाको जोखिम बढेको हो ।

ग्रामीण बस्तीका बिजुलीका खुला तार भुइँमा लत्रिएर स–साना रुख छुन थालेका छन् । लगातारको वर्षाले माटोमा गाडेको पोलसमेत ढल्ने अवस्थामा पुगेका छन् । यसरी भुइँमा लत्रिएका तारमा काग, परेवालगायतका पक्षी बस्दा विद्युत् अवरुद्ध हुने र तार शर्ट भएर आगलागीको घटनासमेत हुने गरेको बरहथवा वितरण केन्द्र अन्र्तगतका स्थानीय बताउछन् ।

विद्युत् प्राधिकरणको भुइँमा लत्रिएको तार व्यवस्थापन गरिदिन स्थानीय बासिन्दाले पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको स्थानीयले बताएका छन् ।
मलंवा वितरण केन्द्र, हिपुर वितरण केन्द्र र बरहथवा वितरण केन्द्रबाट प्रसारण हुने विद्युतका तार, पोल बढी जोखिममा रहेका छन् । त्यस क्षेत्रका ११ हजार भोल्ट करेन्ट प्रवाह भएका धेरै विद्युतका तारले रुख र सडक छोएका छन् ।









