सर्लाही ,भदौ- ५, जिल्लाकाे लालबन्दीका नेवार समुदायले आफ्ना दिवङ्गत पितृकाे सम्झनामा लाखे नाच प्रदर्शन गर्दै गाईजात्रा पर्व मनाएका छन् ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाईलाई सिङ्गारेर लालबन्दी बजारमा रहेको काे दुर्गा मन्दिर,डुमडुमे देवालय परिसर परिक्रमा गराई लाखे नाचसहित गाईजात्रा मनाइएको हो ।


एक वर्षभित्र दिवङ्गत हुनुभएका लालबन्दी नगरपालिका- ६ निवासी टेकबहादुर श्रेष्ठ, टेक नारायण श्रेष्ठ, लालबन्दी नगरपालिका ८ निवासी ज्ञानुमाया श्रेष्ठ, छे कुमारी श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र अनिता श्रेष्ठको सम्झनामा उनीहरूकाे घरघरमै पुगेर लाखे नाच्दै लालबन्दी १० स्थित भिमेश्वर गुठीसम्म पुगेर गाईजात्रा मनाइएको थियो ।


लालबन्दी नगरपालिका ६ स्थित पत्रकार शंकर श्रेष्ठको घरबाट सुरु भएको लाखे नाच्न सहितको गाईजात्रा लालबन्दी बजार क्षेत्रका अन्य दिवङ्गत व्यक्तिको घरघर हुँदै भिमेश्वर गुठीमा पुगेर टुङ्गिएको थियो ।
गुठी परिसरमा भएको कार्यक्रममा समितिका अध्यक्ष सूर्यकुमार श्रेष्ठको अध्यक्षता तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिन, वडा नं. १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।


उता लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेडा गाउँमा पनि हरेक वर्ष झैँ आज पनि गाईजात्रा पर्व मनाइएको वडाध्यक्ष शिवकृष्ण वैद्यले जानकारी दिए । लाखे नाच्दै छेडा गाउँ परिक्रमा गरि गाईजात्रा मनाइएको वडाध्यक्ष वैद्यले जानकारी दिए ।
वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वासकासाथ गाईजात्रा निकाल्ने गरिन्छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको मानिन्छ ।