हरिवन, मंसिर १७ –सर्लाहीको हरिवनमा एक युवकको घारेको मह काढ्ने क्रममा घरको छतबाट खस्दा मृत्यु भएको छ ।
हरिवन ११ का करिब ४० वर्षीय झनक कार्कीको शुक्रवार राती हरिवन ८ स्थित इन्दु शंकर चिनी उद्योग परिसरमा घारेको मह काढ्ने क्रममा लडेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारका अनुसार कार्की राति करिब १० बजे मह काढ्न घारेको गोलामा पुगेका थिए।
मह काढ्ने क्रममा उनलाई घारेको बथानले टोक्न थालेपछि उनी करिब ५० फिट माथिबाट तल खसेका थिए । गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि तत्कालै हरिवनस्थित नमूना अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि भरतपुर लैजाने क्रममा निजगढ पुगेपछि उनको मृत्यु भएको इन्सपेक्टर ताम्राकारले जानकारी दिए ।
कार्की इन्दु शंकर चिनी उद्योगका कर्मचारी समेत हुन्। विगत केही वर्षदेखि उनी उद्योगको सुरक्षा गार्डमा कार्यरत थिए । कार्कीको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।