मलंगवा,माघ -२४, बेमौसी वर्षको कारण पकाउने तयारीमा रहेको करोडौं मूल्य बराबरको इँटा नष्ट भएको भन्दै सर्लाहीका इँटा व्यवसायी सरकारसंग क्षतिपूर्तिको माग गरेका छन् ।

इँटा उद्योग व्यवसायी संघका सर्लाहीका अध्यक्ष मेथुर चौधरीसहित साेमवार (आज) जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेर इँटा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ५ सुत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएका हुन ।

संघका सचिव भगवान मैनालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेमौसमी वर्षाको कारण इँटा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, गैर कानुनीरुपले संचालनमा रहेको भटाहरु यथासिघ्र बन्द गरिनुपर्ने अथवा कानुनी दायरामा ल्याउनुपर्ने, काचो इँटाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बीचमा सहजीकरण गरिनुपर्ने, कर मिन्हा गर्न सिफारिस गरिनुपर्ने , सहुलीयत ब्याज दरमा बैंक ऋणको व्यवस्था गरिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
माघकाे तेस्रो साता शुक्रबार र शनिबार गरी दुई दिन परेको बेमौसी वर्षका कारण सर्लाहीमा झण्डै ११ करोड काँचो इँटा गलेर नष्ट भएको संघका सचिव भगवान मैनालीले बताए ।
उनका अनुसार काचो इँटा पकाउने अवस्था पुग्दा सम्म ३ रूपैयाँ ५० पैसा खर्च हुने गर्दैछ ।
बेमौसमि वर्षाले जिल्लामा रहेको ९३ वटा उद्योगमा क्षति पुगेको संघका अध्यक्ष मेथुर चौधरीले बताएका छन् । वर्षाले जिल्लाका इँटा व्यवसायीले झण्डै ३३ करोड रुपैयाको क्षति व्यहोर्नुपरेको अध्यक्ष चौधरी बताउछन् । सानो पूँजी भएका उद्योगीको उठिबास लाग्ने अवस्था रहेको अध्यक्ष चौधरी बताउछन् । जिल्लामा रहेको इँटा उद्योग बन्द भएमा करिब २७ हजार ९ सय जनाकाे राेजगार गुम्ने सचिव भगवान मैनालीले बताउँछन् । उनका अनुसार एउटा उद्योगमा सरदर ३ सयका दरले मानिसहरुले रोजगारी पाएका छन् ।
काचो इँटा गल्दा हरेक उद्योगमा करिब ५० लाख बराबरको क्षति भएको व्यवसायीहरू बताउँछन् । राज्यले व्यवसायीलाई राहत हुने कार्यक्रम नल्याए देशका धेरै व्यवसायी याे व्यवसायबाट पलायन हुने , हजारौंको राेजगारी गुम्ने र निर्माणका क्षेत्रसमेत प्रभावित हुने व्यवसायीहरू बताउँछन् ।









