![]()
काठमाडौँ, असार- २७ , स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब आठ जटिल रोगको उपचारका लागि दोब्बर सहायता पाउने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साउन १ गतेदेखि लागू हुने गरी उक्त सुविधा घोषणा गरेका हुन्।
मन्त्री पौडेलका अनुसार क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर रोगबाट पीडित नागरिकलाई हालको एक लाख उपचार सहायता थप एक लाख गरी दुई लाख रुपैयाँसम्मको उपचार सुविधा दिइनेछ।

‘कडा रोग लागेर खर्च जुटाउन नसकेका नागरिकको पीडामा राहत पुर्याउने उद्देश्यले हामीले यो निर्णय गरेका हौँ,’ मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्।
मंगलवार राति बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले निर्णयलाई स्वीकृति दिएको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए। उनका अनुसार साउन १ गतेदेखि निर्णय कार्यान्वयनमा आउनेछ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमाका सदस्यले आफू बसेकै स्थानबाटै सेवा लिन सक्ने व्यवस्था गर्ने नीति ल्याइसकेका छन्। उनले बीमा कार्यक्रमलाई थप प्रभावकारी र सर्वसुलभ बनाउन नीतिगत सुधार गर्दै आएको जनाएका छन्।

स्वास्थ्य बीमा कोषको आयश्रोत विस्तारको तयारी
मन्त्री पौडेलले उपचार सहायता वृद्धि गरेसँगै स्वास्थ्य बीमा कोषको आम्दानी बढाउने विभिन्न उपायको घोषणा गरेका छन्। हालैको नीति तथा कार्यक्रममा सरकारी तथा संगठित क्षेत्रका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध गराउने व्यवस्था गरिएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली र उनीहरूका परिवारलाई पनि बीमामा समावेश गर्न पहल थालिएको छ। बजेटमार्फत बीमा बोर्डको बक्यौता शून्य बनाउने निर्णयसँगै संघीय अस्पतालहरूको आम्दानीको १ प्रतिशत बीमा कोषमा पठाउने व्यवस्था समेत गरिएको छ।

कार्यकारी निर्देशक काफ्लेले अनियमित रूपमा भुक्तानी दाबी गर्ने अस्पतालहरूलाई कारबाही गरिएको र निगरानी प्रणाली सुधार गरिएको जानकारी दिए। साथै, बीमा कोषको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न विभिन्न उपायहरू खोजी भइरहेको उनले उल्लेख गरे।









