![]()
सुनसरी,वैशाख -८, नुहाउने क्रममा सप्तकोशी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्।
इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएकाेमा नदीमा डुबेर बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना डुबेर बेपत्ता भएको जानकारी दिए ।
![]()
प्रहरीका अनुसार भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जाँदा मामा पनि बेपत्ता भएका हुन ।
दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए।
उता रुपन्देहीको दानव नदीमा बेपत्ता भएका ३ जना बालकमध्ये एकजनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार १४ वर्षीय राजन यादवको शव डुबेको स्थाननजिकै फेला परेका हुन ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका ३ जना बालक साथीसँगै गाउँनजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए।
बगहा बाबा मन्दिरनजिकै नुहाउने क्रममा तीनैजना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले बताए।
मृत अवस्थामा भेटिएका बालकको मूलघर त्यहीँ भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे। हाल विद्यालय बिदा रहेकाले उनी २ दिनअघि मात्र मूलघर आएका थिए।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।
आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए।









