काठमाडौं, फागुन -१९,स्वर्ण जयन्तीकाे पूर्वसन्ध्यामा नेपाल वन प्राविधिक संघले नेपाल वन प्राविधिक परिषद् गठन गर्न माग गरेको छ।


संघको स्वर्ण जयन्तीको अवसरमा आयोजित नीति संवाद कार्यक्रममा नेपाल वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद् गठन गरेर जनसँग सम्बन्धित समस्याहरुको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन्।


उनले वनका कामहरु गर्नका लागि वनका प्राविधिकहरुको आधिकाररिकता दिन नेपाल वन प्राविधिक परिषद् आवश्यक हुने बताए। परिषद् गठन भएको खण्डमा आधिकारिक रूपमा काम गर्न पाइने बताए।


वन व्यवस्थापनमा प्राविधिकहरुको कमी रहेको उल्लेख गरे। परिषद् भएको खण्डमा वनसँग जोडिएका कामहरु पनि छिटो छरितो हुने बताए। साथै सामुदायिक वनहरुको नवीकरणमा पनि सहयोग पुग्ने बताए। उनले ४६ प्रतिशत वन क्षेत्रलाई अवहेलना नगर्न चेतावनी दिए।

परिषद् गठन गरेर वनसँग सम्बन्धित कामहरु गरेको खण्डमा स्वदेशमै वन प्राविधिकहरुले रोजगारी पाउने र वनसँग सम्बन्धित क्षेत्रमा अन्य रोजगारीको सिर्जना हुने उल्लेख गरे। विज्ञानमा आधारित वन व्यवस्थापन अहिलेको आवश्यकता भएको बताए।

उनले भने, ‘नेपालमा ४६ प्रतिशत वन हुँदाहुँदै पनि विदेशबाट काठ आयातित भइरहेको छ। यहाँका श्रम शक्तिहरु बाहिर रोजगारीका लागि गइरहेका छन्। वन संवद्र्धनमा आधारित वन व्यवस्थापन वा विज्ञानमा आधारित वन व्यवस्थापन हुनुपर्छ। सरकार यसमा गम्भीर हुनुपर्छ। वन विकाससँग जोडिन नेपाल वन प्राविधिक परिषद् गठन तत्काल हुनुपर्छ। त्यसले वन प्राविधिकलाई वन र वन विकास गर्नका लागि सहज हुन्छ।’
उनले वन क्षेत्र राज्यको प्राथमिकतामा नहुँदा वन प्राविधिक र उपभोक्ताहरु समस्यामा परेको बताए।संघले फागुन २० गते उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा स्वर्ण जयन्ती मनाउँदै छ।