काठमाडौँ ,माघ-९, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो रहेको कुरा जनताले अहिले आएर बुझेको बताएका छन्।
उनले साे परियोजना संसदबाट पास गराउदा धेरै ठूलो विरोध भएकाे स्मरण गर्दै, अहिले आएर परियोजना साँच्चिकै राम्रो रहेछ भनेर सबैले थाहा पाएको बताए।
बुधवार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बाेल्दै उनले यस्तो बताएका हुन्।
फरक प्रसंगमा बाेल्दै उनले व्यापार गर्ने र उद्योग खोल्ने काम सरकारको नभएको बताउदै व्यापार व्यापारीले र उद्योग उद्योगपतिले नै खोल्ने काम भएको तर्क गरे ।
‘एकपटक एमसीसी पास गर्ने बेलामा, एमसिसी सहीछाप गर्ने बेलामा धेरै ठूलो विरोध भयो। पार्ल्यामेण्टबाट पास गराउन पनि धेरै गाह्रो भयो‚’ सभापति देउवाले भने, ‘अहिले सबैलाई थाहा भयो कि त्यो साँच्चिकै राम्रो रहेछ भनेर। यसले नेपाललाई फाइदै गरेको छ, हानि गरेको छैन भनेर।
यो ग्राण्टमा आएको हो, ऋणमा आएको होइन। त्यसले अहिले फाइदा गरिरहेको छ भन्ने कुरा सबैले देखे।’ सभापति देउवाले कुनै देशकाे सहयोग लिँदा ऋणको भारमा नपर्नेगरी लिनुपर्ने तर्क गरे ।