
सर्लाही,पुस-१, नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले जिल्लाका पत्रकारहरुलाई सहयोग गर्न आफू सदैव तयार रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति सर्लाहीको नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले लोकतन्त्रको रक्षकको रुपमा पत्रकारीता क्षेत्रले भूमिका निर्वाह गरेको बताए । पत्रकारहरुले जहिले पनि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पर्नेमा उनकाे जाेड थियो । विना प्रमाण प्रकाशन प्रशारण गरिने समाचारले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने भन्दै उनले समाचारको विश्वसनीयतामा ध्यान दिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघको २७औं अधिवेशन अन्तरगत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट जिल्ला शाखा सर्लाहीमा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष ओम प्रकाश ठाकुर, उपाध्यक्षद्वय मुकेश झा र बन्दना झा, सचिव सोम दियाली, सह–सचिवद्वय जनार्जन खत्री र लक्ष्मण यादव, कोषाध्यक्ष घनश्याम सिंह, कार्यसमिति सदस्य अमलेश ठाकुर, राधेश्याम कुशवाहा, बुद्धबहादुर विक, निरज यादव, रिना आले, मनिषा कुशवाहा, बच्चेलाल पण्डितलाई सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

त्यस्तै निर्वाचनबाट प्रदेश परिषद सदस्यमा निर्वाचित प्रकाश मैनाली, केन्द्रीय परिषद सदस्यमा निर्वाचित पुस्तिका केसी र सत्यप्रकाश यादव पनि सम्मान पत्रबाट सम्मानित भएका थिए ।
त्यस्तै जिल्ला महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने निर्वाचन समितिका सुनिल ठाकुर, रजनीकान्त झा र सन्जु कर्णलाई समेत सम्मान गरिएको थियो । त्यस्तै महासंघका निवर्तमान अध्यक्ष टंक क्षेत्री, पूर्व अध्यक्षद्वय अमन कोइराला र रोशन न्यौपाने , निर्वाचनमा सहमतिकाे वातावरण बनाउन महत्त्वपूर्ण याेगदान गर्ने प्रेस युनियन सर्लाहीका सचिव रामबाबु खड्कालाई पनि सम्मान गरिएको थियो ।

नेपाली काँग्रेस सर्लाहीले आयोजना गरेको कार्यक्रम हरिवन नगरपालिका ११ स्थित सगुन साकोसको सभाहलमा सम्पन्न भएको थियो ।
नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका सह–सचिव ईन्द्र योन्जन, काेषाध्यक्ष बिगु चाैधरी महासमिति सदस्य एवम् मुस्लिम संघका सभापति शेख साह दुल्लाह, नेपाल महिला नेतृ सोनी कुमारी बोम्जन, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया युवा नेता शेर बहादुर योन्जन लगायतको आतिथ्यता रहेको थियो ।









