
ठाकुरप्रसाद बख्रेल/हरिपुर, असाेज-३,हरिपुर -ग्रामीण नारी उत्थान संघ हरिपुर सर्लाहीले नेतृत्व विकास तथा संगठनात्मक विकास सम्वन्धि तालिम सञ्चालन गरेको छ ।
संस्थाका अनुसार हरिपुर र ईश्वरपुर नगरपालिकामा क्रियाशील समुदायमा आधारित संस्थाहरूलाई तालिम प्रदान गरिएको हो ।

ग्रामीण नारी उत्थान संघले हरिपुर र ईश्वरपुर नगरपालिकामा बाल विवाह न्यूनिकरण तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सि.इ.एफ.एम. परियोजना कार्यान्वयन गरिरहेको छ ।
उक्त परियोजनामार्फत बाल विवाह नियन्त्रणका लागि सडक नाटक, समुदायमा आधारित छलफल, सरोकारवालाहरूसँग सहकार्य लगायतका गतिविधिहरू सञ्चालन हुँदैआएका छन् ।
ग्रामीण नारी उत्थान संघले परियोजना कार्यान्वयनका लागि हरिपुर नगरपालिकामा नगरस्तरीय मुसहर महिला सञ्जाल तथा लक्ष्मीनाथ युवा क्लव र ईश्वरपुर नगरपालिकामा सिर्जनशील महिला क्लव, डूपुस नेपाल तथा सामुदायिक विकासका लागि युवा सहभागिता जस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।

सहकर्मी संस्थाहरूको क्षमता अभिबृद्धिगरी स्थानीयस्तरबाटै बाल विवाह नियन्त्रणकाका प्रयासलाई सार्थक बनाउन सम्वन्धित संस्थाका सञ्चालक सदस्य र कर्मचारीहरूको नेतृत्व विकास गर्नु पर्ने भएकाले तालिम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन गरिएको तालिमको उद्घाटन कार्यक्रममा ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष बिष्णुप्रसाद चालिसेले संस्थाको नेतृत्व विकास नभएका कारण सर्लाहीमा स्थापित दर्जनौं गैरसरकारी संस्था बन्द भएको बताए । ‘सर्लाहीको तत्कालिन संसदीय क्षेत्र नम्वर २ मा २०५० सालको दशकमा चार दर्जनभन्दा बढी गैर सरकारी संस्थाहरू गठन गरिएको’ स्मरण गर्दै चालिसे बर्तमानमा ५/६ वटा संस्थाहरू मात्र क्रियाशील रहेको बताए ।
चालिसेका अनुसार विगतमा संस्थागत नेतृत्व विकासमा ध्यान नदिँदा संस्था नै बन्द हुनु पर्ने अवस्था सिर्जना भएको थियो ।

विगतबाट पाठ सिकेर आफ्ना सहकर्मी संस्थाहरूको नेतृत्व विकासलाई ग्रामिण नारी उत्थान संघले उच्च प्राथमिकतामा राख्दै आएको चालिसेले तर्क थियो ।
कार्यक्रममा संगठनात्म नेतृत्व विकासका आधार तथा संगठनात्मक द्वन्द व्यवस्थापन लगायतका विषयमा २३ जना प्रशिक्षार्थीहरूलाई तालिम प्रदान गरिएको छ ।









