
काठमाडौँ,असाेज-१, राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् ।
सांस्कृतिक एवम् ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पैदल गई जात्रा अवलोकन गरेका हुन् ।
साे अवसरमा राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाकी उप-प्रमुख सुनिता डङ्गोलले स्वागत गरेकी थिइन् ।

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए ।
लगत्तै श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलवार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए।
वर्षा र सहकालका देवताका रूपमा पुजिने इन्द्रको विधिपूर्वक पूजा आज पनि गरिएको थियो ।

जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान आदि हुने गर्छ । पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरिएको छ ।









