कृष्ण थपलिया/सर्लाही,
भदौ—१९, महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली कांग्रेस हरिवन नगर समितिले (आज)बुधवार तिज विशेष भव्य कार्यक्रम  सम्पन्न गरेको छ  ।
कार्यक्रमका  प्रमुख अतिथिसमेत रहेका  नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले महिलाहरूलाई आफ्नो हक प्राप्तिको लागि अगाडि आउन आग्रह गरे । उनले महिलाहरुलाई चुलोचौकोमा मात्र सिमित नभई समाज परिवर्तनको नेतृत्व लिन आग्रह गरे ।

बच्चा नकराई आमाले पनि दुध नखुवाउने दृष्टान्त दिदै उनले , अधिकार प्राप्तिका लागि महिला स्वयं अघि सर्नुपर्ने तर्क गरे। ‘तपाईहरु समाज सेवाको माध्यमले अघि बढ्दै आउने चुनावमा आफुलाई अब्बल साबित गर्नुस,’हामी सहयोग गर्न तयार छौ , उनले भने । कार्यक्रमका विशिष्ट अतिथि मधेस प्रदेश सभा सदस्य जंगीलाल रायले तीज पछिल्लो समय मधेका गाँउ बस्तिहरुमा पनि मनाउन थालिएको बताए ।

पर्वहरुले सवै भाषाभाषीलाई जोड्ने भएकाले यसको महत्व बढ्दै गएको बताए । विशिष्ट अतिथि नेपाली कांग्रेसका पूर्व अमन्त्रीत केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठले पछिल्लो समय तीज राष्ट्रिय पर्वकोरूपमा बिकास भइरहेको बताए । उनले एक महिना अघि देखिनै पर्व मनाउने चलन त्यतीधेरै राम्रो नभएको बताए ।
नेपाली कांग्रेस हरिवन नगर समिति उपसभापति डाकुरनाथ खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रममा मधेस प्रदेश सभा सदस्य सकुन्ती देवी,वडाध्यक्ष अर्जुन योन्जन र महिला नेतृ बनीता कार्कीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बीच बीचमा महिलाहरुलाई नेपाली कांग्रेससंग सम्बन्धित प्रश्नहरु सोध्दै सहि जवाफ दिने महिलाहरुलाई विशिष्ट अतिथिको हातबाट एक—एक वटा साडी पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।


नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य सोनीकुमारी बम्जनको सभाध्यक्षता भएको कार्यक्रममा मधेस प्रदेश सभा सदस्य जंगीलाल राय, पूर्व आमन्त्रीत केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सरोज कुमार, महासमिति सदस्य रामप्रसाद मैनाली, कांग्रेसका विभिन्न तह र तप्काकाका नेता कार्यकर्ताहरू,महिला नेतृहरू,निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका २ हजार बढि महिलाहरु सहभागि भएर दर खाएका थिए । कार्यक्रममा महिलाहरुले प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुलाई छमछमी नचाएका थिए ।


यता जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा पनि तीज विशेष कार्यक्रम गरिएको छ । स्वतन्त्र विध्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमा स्वतन्त्र विध्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पसका सभापति अभिमन्यू चौधरीको सभाध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिनको प्रमुख अतिथ्यता तथा जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख उमेश तिमल्सिना,प्राध्यापक, उपप्राध्यापक बिध्यार्थी नेता तथा
बिध्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बिध्याथीहरु तीजको गीतमा छमछमी नाचेका थिए ।