हरिवन,असार—१६,लायन्स अन्तराष्ट्रियको सप्ताह व्यापी सामाजिक सेवा कार्यक्रम अन्तर्गत हरिवनमा रहेको लायन्स क्लव काठमाडौं सर्लाहीले तीनवटा कार्यक्रम सम्पन्न गरेको छ । वादरलाई आहारा एवं वन्यजन्तु संरक्षणमा योगदान गर्नेलाई सम्मान, गुम्वा सफाई र पीउने पानी वितरण गरिएको क्लवका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।
मूर्तिया जंगलमा वादरलाई आहारा खुवाउनुका साथै वन्यजन्तुलाई माया गर्ने र पटक पटक खाना खुवाउने पुर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन उद्योग वाणिज्य संघका उपाध्याक्ष कृष्ण प्रसाद श्रेष्ठ र व्यवसायी शिवकृष्ण महालाई प्रंशसा पत्र सहित सम्मान गरिएको अध्यक्ष वाग्लेले जानकारी दिए ।


पुर्व रक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि प्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गरेका क्लवले जनाएको छ ।
यस्तै क्लवले वागमती नगरपालिकाको धरहरामा रहेको ज्याङछुक छोयलिंग गुम्वामा सरसफाई गरेको थियो । क्लवले नयाँरोडमा यात्रुवाहक सवारी साधनमा पीउने पानी समेत वितरण गरेको जनाएको छ ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य हरि प्रसाद उप्रेतीले वादर सहित वन्यजन्तु संरक्षण गर्ने कार्यको दिर्घकालिन महत्व रहेको वताए ।


उनले लायन्स क्लवले रोचक र अर्थपुर्ण सम्मान कार्यक्रम राखेकोमा खुसी व्यक्त गर्नुभयो । उप्रेतीले कार्यक्रमको महत्व नै नवुझी वादरलाई खाना खुवाउनेलाई सम्मान गरेछन भनेर खिसीट्युरी नगर्न समेत आग्रह गरे ।
सम्मानीत व्यक्तीत्व डिल्ली प्रसाद उप्रेतीले आफुले अहिलेसम्म वादरहरुलाई करिव १ लाखको आहारा खुवाएको भए पनि लायन्स क्लवले आफुलाई सम्झना गरेपछि त्यो एक लाख नै फीर्ता आएको जस्तो महसुस भएको वताए । उनले कुनै सम्मान पाउन वादरलाई खाना नखुवाएको भए पनि लायन्सले मसिनुसँग मुल्यांकन गरेकोमा खुसी लागेको धारणा व्यक्त गरे ।


कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान सहित क्लवलका पदाधिकारी र सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । लायन्सका सदस्यहरुको योगदानबाट कार्यक्रम सम्पन्न गरिएको क्वलले जनाएको छ । एक वर्ष पहिले हरिवनमा खुलेको क्लवले यस अघि पनि विभिन्न काम गर्दै आएको छ ।