लालबन्दी, जेठ -५ । नेपाल रेडक्रस सोसाइटी रेडक्रस सोसाइटी पालिका शाखालालबन्दीद्वारा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्र लालबन्दीमा आगामी असोज,कार्तिकदेखि आँखा अप्रेसनसहितका सेवा विस्तार गर्ने भएको छ।
अत्याधुनिक उपकरण उपलब्ध भए पनि सर्जन चिकित्सक तथा प्राविधिक कर्मचारीको अभावका कारण हालसम्म अप्रेसन सेवा विस्तार गर्न नसकिएको केन्द्रले जनाएको छ।
लालबन्दी नगर क्षेत्रमा सक्रिय समाजसेवी युवाको पहल तथा विभिन्न लायन्स क्लबहरूको सहकार्यमा केन्द्रका लागि करिब दुई करोड २२ लाख रुपैयाँ बराबरका आँखा जाँच तथा अप्रेसनसम्बन्धी उपकरण उपलब्ध भइसकेको छ ।
रेडक्रस पालिका शाखा लालबन्दीले साझेदारी कार्यक्रमअन्तर्गत २५ लाख ४० हजार रुपैयाँ अन्तर्राष्ट्रिय लायन्समा जम्मा गरेको थियो। सोही कार्यक्रममार्फत अत्याधुनिक उपकरण प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी लालबन्दी पालिका शाखा जनाएको छ।

लायन्स क्लबका अध्यक्षहरू सुरेश प्रसाद पौडेल, राजकुमार न्यौपाने, दीपक थापालगायत सक्रिय युवाको नेतृत्व तथा नेपाल रेडक्रस सोसाइटी पालिका शाखाका पदाधिकारी र लायन्स चियरपर्सन भरत प्रसाद ढुंगेलको सक्रियतामा उपकरण व्यवस्थापन गरिएको बताइएको छ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी पालिका शाखा सचिव भरत गौतमका अनुसार हाल केन्द्रमा पाँच जना कर्मचारी कार्यरत छन्। सेवा विस्तारपछि थप प्राविधिक जनशक्ति आवश्यक पर्ने उनले बताए। अहिले कार्यरत कर्मचारीलाई न्यून पारिश्रमिकमा सेवा सञ्चालन गरिँदै आएको उल्लेख गर्दै उनले अस्पताल स्तरोन्नतिसँगै सेवासुविधा र व्यवस्थापन क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गरे।
हाल केन्द्रमा सामान्य प्रविधिबाट आँखाको उपचार तथा मोतीबिन्दुको अप्रेसन हुँदै आएको छ। तर आगामी असोज–कार्तिकदेखि अत्याधुनिक उपकरणमार्फत आधुनिक प्रविधिमा आधारित अप्रेसन सेवा सञ्चालन गर्ने तयारी भइरहेको सचिव गौतमले जानकारी दिए। सेवा विस्तारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन विभिन्न सरकारी निकायमा पहल भइरहेको उनले बताए।

केन्द्रले चालु आर्थिक वर्षको हालसम्म एक हजार ११ सय ५७ जनाको मोतीबिन्दुको सफल अप्रेसन गरेको जनाएको छ। यस अवधिमा दुई हजार पाँच सयभन्दा बढी सेवाग्राहीले आँखा उपचार सेवा लिएका छन्। हाल दैनिक २५ देखि ३० जनासम्म बिरामीले सामान्यदेखि जटिल प्रकृतिका आँखासम्बन्धी उपचार सेवा लिइरहेका छन्।
आँखा उपचार केन्द्रमा नेत्र सहायक सिर्जना झाको नेतृत्वमा दैनिक बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सेवा सञ्चालन हुँदै आएको छ।
सरकारले आइतवार सार्वजनिक बिदा दिए पनि केन्द्रले सातै दिन सेवा सञ्चालन गरिरहेको जनाएको छ।
केन्द्रमा उपचारका लागि आउने बिरामीलाई आवश्यक परेमा १० मिनेटभित्रै चस्मा तयार गरी उपलब्ध गराउने व्यवस्था गरिएको छ।
अन्य निजी क्लिनिकको तुलनामा सुलभ मूल्यमा चस्मा उपलब्ध गराइने केन्द्रले जनाएको छ। आँखाका बिरामीलाई आवश्यक पर्ने औषधिसमेत सहुलियत दरमा केन्द्रबाटै उपलब्ध हुँदै आएको छ।
नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाको लालबन्दी–५ जरुवापानीस्थित आफ्नै दुईतले भवनमा आँखा उपचार सेवा केन्द्र सञ्चालन भइरहेको छ।
पछिल्लो समय सेवा विस्तार र सामाजिक सक्रियताका कारण यो संस्था सर्लाही जिल्लामै उत्कृष्ट संस्थाका रूपमा परिचित हुँदै गएको स्थानीयवासी बताउँछन्।









