लालबन्दी ,बैशाख- ११ । नेपाल भारत मैत्री संघ उपशाखा लालबन्दीले यहाँका गरिब तथा असहाय नागरिकलाई लक्षित गर्दै सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
संघले लालबन्दी नगरपालिका–९ का ५० घरपरिवारलाई  झुल  वितरण गरेको हो।
संघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेका अनुसार बढ्दो गर्मी र लामखुट्टेको समस्या मध्यनजर गर्दै स्थानीय बासिन्दालाई राहत पुगोस् भन्ने उद्देश्यले झुल वितरण गरिएको हो। “गर्मी याममा लामखुट्टेको टोकाइबाट विभिन्न रोगको जोखिम बढ्ने भएकाले जोखिम न्यूनीकरणका लागि यो सहयोग गरिएको हो,” न्यौपानेले चियाेचर्चाे दैनिकसंग भने।


वितरण कार्यक्रममा स्थानीय संघका प्रतिनिधि तथा स्थानीयकाे उपस्थिति रहेको थियो।
उनीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले विपन्न समुदायलाई प्रत्यक्ष राहत मिल्ने बताउदै   आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तरता दिन आग्रह गरे ।
आफूहरूले झुल पाएपछि  रातिको समयमा सुत्न सहज भएको र स्वास्थ्य रहन मद्दत पुगेकाले  निक्कै खुसी लागेको बताए ।


लालबन्दी नगरपालिका–९ मा आर्थिक अवस्था कमजोर भएका, दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने तथा असहाय अवस्थामा रहेेका परिवारहरूलाई प्राथमिकतामा राखी झुल वितरण गरिएको संघले जनाएको छ।कार्यक्रमका क्रममा वक्ताहरूले सामाजिक संघसंस्थाहरूले सरकारी निकायसँग सहकार्य गर्दै समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सानो सहयोगले पनि ठूलो काम गर्ने भएकाले अन्य संघसंस्थालाई पनि यस्ता सामाजिक कार्यमा अग्रसर हुन आग्रह  गरे।

नेपाल भारत मैत्री संघ उपशाखा लालबन्दीले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै आएको छ। संघले शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएको छ। आगामी दिनमा अझ धेरै  समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको संघले जनाएको छ।