लालबन्दी , बैशाख- १० । काठमाडौं विश्वविद्यालय (KU) ले सर्लाहीको लालबन्दी नगरपालिका –१६, परवानीपुरमा स्थापना गर्न लागेको ‘स्कुल अफ एग्रीकल्चर’ सम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षण (आई इइ) का विषयमा बिहीवार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ।
क्याम्पसको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले सुनुवाई आयोजना गरिएको हो।

कार्यक्रम लालबन्दी–१५ बाेहाेरे डाडास्थित पुष्पलाल स्मृति
पार्कमा नगरप्रमुख वासुदेव अधिकारीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ की प्रतिनिधि सभा सदस्य नीतिमा कार्की भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य बेची लुंगेली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाह ,नगर उपप्रमुख कल्पनामाया पाख्रिन, विभिन्न राजनीतिक दलका पालिका प्रमुख , वडाध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला सहभागी थिए।

सुनुवाईमा वक्ताहरूले लालबन्दी नगरभित्र कृषि क्याम्पस स्थापना हुनु स्थानीयका लागि गौरवको विषय भएको उल्लेख गर्दै परियोजनालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
उनीहरूले यस क्याम्पसले सर्लाहीसहित आसपासका जिल्ला तथा भारतका सीमावर्ती क्षेत्रका विद्यार्थीलाई उच्चस्तरीय कृषि शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
नगरप्रमुख अधिकारीका अनुसार क्याम्पस स्थापना गर्न क्षेत्रभित्र पर्ने करिब ७ बिगाहा ७ कठ्ठा १३ धुर नदी उकास जग्गा उपयोग गर्ने योजना बनाइएको छ। सो क्षेत्र करिब ४.८८ हेक्टर राष्ट्रिय वन क्षेत्रमा पर्ने भएकाले कानुनी प्रावधानअनुसार प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य गरिएको हो।
आवश्यक बजेट व्यवस्थापन, जग्गा प्राप्ति तथा अन्य प्रशासनिक प्रक्रिया टुंग्याउन आफूले प्रदेश र संघीय सरकारसँग निरन्तर पहल गरिरहेको नगर प्रमुख अधिकारीले बताए । कार्यक्रममा सहभागी प्रतिनिधिसभा सदस्य कार्कीले पनि प्रस्तावित क्याम्पस क्षेत्रको स्थलगत निरीक्षण गर्दै परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रस्तावित आयोजनाको नाम “काठमाडौं विश्वविद्यालय स्कुल अफ एग्रीकल्चरको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक जग्गा प्राप्ति” राखिएको छ। प्रस्तावक , धुलिखेल, काभ्रेपलाञ्चोक रहेको छ।
विश्वविद्यालयले पछिल्लो समय ‘Campus to Community’ र ‘Lab to Land’ नीति अवलम्बन गर्दै व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षामा जोड दिँदै आएको छ।
यसअघि पाँचखालमा सञ्चालन गरिएको कृषि कार्यक्रम पूर्वाधार तथा व्यवस्थापन समस्याका कारण अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि हाल धुलिखेलमै सञ्चालनमा ल्याइएको छ।
दीर्घकालीन समाधानका रूपमा नयाँ स्थान खोज्ने क्रममा लालबन्दीलाई उपयुक्त विकल्पका रूपमा छनोट गरिएको विश्वविद्यालयले जनाएको छ।
वातावरण संरक्षण नियमावली, २०७७ अनुसार १ देखि ५ हेक्टरसम्मको वन क्षेत्र अन्य प्रयोजनका लागि प्रयोग गर्नुअघि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी स्वीकृत गराउनुपर्ने व्यवस्था छ।
सोही प्रावधानअनुसार प्रस्तावित आयोजनाले वातावरणीय प्रभावहरूको पहिचान, विश्लेषण तथा व्यवस्थापन उपायहरू समेटिएको प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाएको हो।
प्रारम्भिक वातावरणीय परीक्षणको मुख्य उद्देश्य प्रस्तावित क्षेत्रको भौतिक, जैविक, सामाजिक तथा आर्थिक अवस्थाको यथार्थ चित्रण गर्नु, आयोजनाबाट हुन सक्ने सकारात्मक तथा नकारात्मक प्रभावहरूको पहिचान गर्नु, र नकारात्मक असर न्यूनिकरण तथा सकारात्मक प्रभाव अधिकतम बनाउने उपायहरू सुझाउनु रहेको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पनि परियोजनाले क्षेत्रीय कृषि विकास, रोजगारी सिर्जना तथा शैक्षिक अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्। यससँगै वातावरणीय सन्तुलन कायम राख्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूको जोड थियो।
परियोजना कार्यान्वयनमा आएसँगै मधेश प्रदेशमा उच्चस्तरीय कृषि शिक्षाको पहुँच विस्तार हुनुका साथै आधुनिक, प्रविधिमैत्री र अनुसन्धानमा आधारित कृषि प्रणाली विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।









