मलंगवा, चैत- १ । सर्लाही जिल्लामा एल.पि. ग्याँसको बजारमा देखिएको अभावबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार तथा उपभोक्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीले ग्याँसको बिक्रीवितरण व्यवस्थित गर्न एक सूचना जारी गरि आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले आइतवार सूचना जारी गर्दै बजारमा ग्याँसको अभावको हल्ला फैलाएर कृत्रिम अभाव सिर्जना गर्ने, ग्याँस हुँदाहुँदै पनि नभएको भन्दै उपभोक्तालाई सास्ती दिने तथा बढी मूल्य लिई कालोबजारी गर्ने कार्य नगर्न सम्बन्धित व्यवसायीलाई चेतावनी दिएको हो।

कार्यालयका अनुसार पछिल्ला दिनमा एल.पि. ग्याँस अभाव भएको भन्ने हल्लाका कारण केही व्यवसायीले ग्याँस सिलिन्डर आवश्यकताभन्दा बढी भण्डारण गर्ने, उपभोक्तालाई ग्याँस छैन भन्दै फर्काउने तथा बढी मूल्य असुल्ने जस्ता गतिविधि बढेको भन्ने गुनासो प्राप्त भएको छ।
![]()
यस्तो गतिविधिले उपभोक्ता मारमा परेको र बजार व्यवस्थापनमा समस्या देखिएको प्रशासनले जनाएको छ।
सूचनामा ग्याँस बिक्रीवितरणका क्रममा हल्लाको भरमा अत्यधिक भण्डारण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, निर्धारित मूल्यभन्दा बढी रकम असुल्ने वा उपभोक्तालाई हैरान पार्ने जस्ता कार्य गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई पनि तीव्र बनाइने जनाएको छ। कार्यालयबाट खटिएको अनुगमन टोलीले बजारमा नियमित अनुगमन गर्ने र अनियमितता भेटिएमा तत्काल कानुनी प्रक्रिया अघि बढाइने प्रशासनले उल्लेख गरेको छ।
सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुने स्पष्ट पारिएको छ। यी कानुनअनुसार कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक भण्डारण गर्ने वा उपभोक्तालाई ठगी गर्ने कार्य दण्डनीय अपराध मानिन्छ।
निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेद्वारा हस्ताक्षरित सूचनामा ग्याँसको सहज तथा निर्वाध आपूर्ति सुनिश्चित गर्न सबै व्यवसायीलाई निर्धारित मूल्य र परिमाणमा नियमित बिक्रीवितरण गर्न आग्रह गरिएको छ।
साथै उपभोक्तालाई अनावश्यक सास्ती नदिन पनि प्रशासनले निर्देशन दिएको छ।


प्रशासनले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने कुनै पनि गतिविधि भेटिएमा सम्बन्धित निकायलाई जानकारी गराउन उपभोक्तासँग पनि आग्रह गरेको छ।
बजार व्यवस्थापन, उपभोक्ता अधिकार संरक्षण तथा आवश्यक वस्तुको सहज आपूर्तिका लागि स्थानीय प्रशासन सक्रिय रूपमा लागिपरेको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले सबै ग्याँस विक्रेता, उद्योगी तथा सम्बन्धित सरोकारवालालाई जिम्मेवार भई उपभोक्तालाई सहज रूपमा सेवा उपलब्ध गराउन पनि अनुरोध गरेको छ।









