मलंगवा,फागुन- १२ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को र फागु पूर्णिमा (होली) पर्वलाई सभ्य, सुरक्षित र मर्यादित ढंगले मनाउ जिल्ला प्रशासन कार्यालय सर्लाहीले  सूचना जारी गरेको आग्रह गरेको छ।कार्यालयले जिल्लावासीमा होली पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वका नाममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न  अनुरोध गरेको हो।


सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कार्यालयले सूचना मार्फत फाल्गुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेट भएका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रशासनले उक्त अवधिमा यस्ता सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिने स्पष्ट पारेको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको कार्यालयले जनाइएको छ।


त्यस्तै, निर्वाचनको मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री–वितरणमा समेत रोक लगाइएको छ। फाल्गुन १८ गते राति १२ बजेदेखि  २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने प्रशासनले जनाएको छ।
आदेश उल्लंघन गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले होली पर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन विशेष आग्रह गरेको छ।
साथै, चाडपर्वको नाममा कसैको इच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ्ग प्रयोग गर्ने, जिस्क्याउने वा दुर्व्यवहार गर्ने जस्ता गतिविधि नगर्न/नगराउन सर्वसाधारणलाई आह्वान गरेको  छ।


यस्ता क्रियाकलापले सामाजिक सद्भाव खल्बल्याउने तथा व्यक्तिगत स्वतन्त्रतामा असर पुर्‍याउने भएकाले नियन्त्रण आवश्यक रहेको प्रशासनको ठहर छ।
त्यसैगरी, मादक तथा नशालु पदार्थ जबरजस्ती सेवन गराउने, डिजे बजाएर ध्वनि प्रदूषण फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने कार्य नगर्न पनि आग्रह गरिएको छ। प्रशासनले सामाजिक सद्भाव, शान्ति सुरक्षा र आपसी सम्मान कायम राख्दै हर्षोल्लासका साथ होली मनाउन अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जारी गरेको सूचनामा शान्ति सुरक्षामा असर पर्ने गरी अवाञ्छित गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट उल्लेख छ। उनले निर्वाचन र चाडपर्व दुवैलाई लक्षित गरी सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालन गरिने जानकारी दिए ।
जिल्ला प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, व्यवसायी, यातायात व्यवसायी, युवा समूह तथा सर्वसाधारणलाई प्रशासनका निर्देशनहरूको पालना गर्न अपिल गरेको छ। विशेषगरी निर्वाचनको समयमा सामाजिक सञ्जाल, सार्वजनिक स्थान तथा शहर बजार क्षेत्रमा सद्भाव  कायम राख्न अनुरोध गरिएको छ।

होली पर्व सामाजिक एकता, सद्भाव र आपसी प्रेम साटासाट गर्ने अवसर भएकाले मर्यादित र सभ्य ढंगले मनाउन  प्रशासनले जोड दिएको । विगतका वर्षहरूमा देखिएका केही अवाञ्छित घटनालाई मध्यनजर गर्दै यसपटक सुरक्षा व्यवस्था थप कडा पारिएको  जनाइएको छ।
प्रशासनले सार्वजनिक हितलाई केन्द्रमा राख्दै जारी गरिएको सूचनाको पूर्ण पालना गर्न आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई जानकारी गराउनसमेत अनुरोध गरेको छ।