काठमाडौँ, माघ २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेसको वास्तविकता बुझाउन आफू सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेको बताएका छन् ।

गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै आएका सर्लाही–४ का मतदातासँग आयोजित अन्तरक्रिया कार्यक्रममा थापाले मधेस नबुझी राष्ट्रिय नेतृत्व सम्भव नहुने निष्कर्षमा पुगेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए । काठमाडौँले मधेसलाई अझै सतही रूपमा मात्रै बुझेको छ र आगामी पाँच वर्षमा त्यो बुझाइ परिवर्तन गर्ने लक्ष्य लिएको उनले बताए ।

<span;>“मेरो परिवार पहाडबाट काठमाडौँ आएको हो, आमाबाट पहाड बुझेँ । काठमाडौँमा हुर्किएँ, सहर बुझेँ । पार्टी सभापति भएपछि कांग्रेसलाई विस्तार गर्न र देशको नेतृत्व गर्न मधेस नबुझी सम्भव हुँदैन भन्ने लाग्यो,” थापाले भने, “म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ । अबको पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउनेछु ।”
![]()
थापाले आगामी पाँच वर्षमा मधेसको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गरेर आम नागरिकको दैनिकीमा प्रत्यक्ष परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । उनका अनुसार सर्लाही–४ मा शिक्षा, स्वास्थ्य, प्रविधि र कृषिलगायत क्षेत्रमा अध्ययन गरिएको छ र त्यसका आधारमा आवश्यकताअनुसार कार्यक्रम अघि बढाइनेछ ।

“काठमाडौँ–४ का बासिन्दाले यहीँबाट चुनाव लड्न आग्रह गरेका थिए । अबको पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,” उनले भने ।
आफ्नो ज्ञान, अनुभव र नेटवर्क प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा केन्द्रित काम गर्ने र त्यसबाट क्रमशः समस्याहरू घट्दै जाने थापाले विश्वास व्यक्त गरे ।









