आदित्य महताे /सर्लाही
नेपाल आज ऐतिहासिक मोडमा उभिएको छ। लोकतन्त्र स्थापनापछि पटक–पटक सरकार फेरिए, नारा बदलिए, तर जनताले महसुस गर्ने गरी सुशासन र समृद्धि स्थापित हुन सकेन। यही असन्तोष, यही थकान र यही अपेक्षाको बीचमा आज नेपाली राजनीतिले नयाँ सोच, नयाँ शैली र जवाफदेही नेतृत्व खोजिरहेको छ। देश अब भाषणले होइन, परिणामले चल्नुपर्छ भन्ने चेतना जनतामा तीव्र रूपमा विकास भएको छ।
सुशासन कुनै अमूर्त अवधारणा होइन।

यो नागरिकप्रति जवाफदेही सरकार, पारदर्शी प्रशासन, भ्रष्टाचारमुक्त प्रणाली र कानूनको समान कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको विषय हो। समृद्धि पनि केवल ठूला परियोजनाको घोषणा मात्र होइन, जनताको जीवनस्तरमा देखिने परिवर्तन हो । रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सम्मानजनक जीवन।


विकासको गति र कांग्रेसको नीति
विकासको गति तब मात्र तीव्र हुन्छ जब नीति स्पष्ट हुन्छ। नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतन्त्र, समाजवाद र समावेशीताको पक्षमा उभिएको पार्टी हो। तर समयसँगै नीति मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने शैली पनि बदलिन आवश्यक थियो। आज कांग्रेसभित्र भइरहेको बहस र रूपान्तरण यही यथार्थको स्वीकारोक्ति हो।


कांग्रेसको नीति अब केवल केन्द्रित शक्ति नभइ, स्थानीय आवश्यकता र सम्भावनामा आधारित विकास हो। कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र उद्यमशीलतामा लगानी बढाएर देशलाई आत्मनिर्भर बनाउने स्पष्ट दृष्टिकोण कांग्रेसले अघि सारेको छ। विकासको गति बढाउन राजनीतिक स्थायित्व, स्पष्ट नीति र सक्षम नेतृत्व अनिवार्य हुन्छ र यही बिन्दुमा नेतृत्वको भूमिका निर्णायक बन्छ।


“कांग्रेसमा अनुहार होइन, सोच र शैली बदलिएको छ” : गगन थापा गगन थापाले बारम्बार दोहोर्‍याउने यो भनाइ केवल नारा नभइ एक राजनीतिक सन्देश हो। नेपाली राजनीतिमा लामो समयदेखि अनुहार फेरिए, तर सोच र शैली उस्तै रहे। यही कारण जनतामा निराशा बढ्दै गयो। गगन थापाको उदय भने अनुहारसँगै सोच, कार्यशैली र राजनीतिक संस्कार परिवर्तनको प्रतीक बनेको छ।

नी संवादमा विश्वास गर्छन, आलोचनाबाट भाग्दैन्न, प्रश्नलाई समाधानका  रूपमा लिन्छ, आजको लोकतन्त्रमा जनताको प्रश्नबाट भाग्ने मानिस नेता वा जनप्रतिनिधि हुने योग्यता राख्दैन। जनतासँग डराउने होइन, जनतासँग उभिने नेतृत्व नै आजको आवश्यकता हो र गगन थापा यही धारको प्रतिनिधित्व गर्छन् ।
जवाफदेहिता : असल जनप्रतिनिधिको न्यूनतम आवश्यकता
जनता र देशप्रति जवाफदेहिता कुनै वैकल्पिक गुण होइन, असल जनप्रतिनिधिको न्यूनतम आवश्यकता हो। चुनाव जितेर पाँच वर्ष मौन बस्ने, असफलता अरूलाई थोपर्ने र उपलब्धि आफ्नै भनेर प्रचार गर्ने राजनीति अब स्वीकार्य छैन।
गगन थापाको राजनीति जवाफदेहितामा आधारित छ।

संसदमा होस् वा सडकमा, उनले उठाएका विषयहरू स्वास्थ्य सुधार, शिक्षा प्रणाली, सुशासन, भ्रष्टाचार नियन्त्रण सबै जनजीवनसँग प्रत्यक्ष सम्बन्धित छन्। उनले गरेको आलोचना पनि रचनात्मक छ, समाधानमुखी छ।
गगन थापा : अब्बल, दाबेदार, प्रमाणित र च्यालेन्जर
गगन थापा आज केवल आशा होइन, प्रमाणित क्षमता भएका नेता हुन्। नीति निर्माणमा स्पष्टता, सार्वजनिक मञ्चमा आत्मविश्वास, र निर्णय क्षमतामा दृढता यी सबैले उनलाई अब्बल बनाएको छ। उनी दाबेदार हुनुहुन्छ किनकि उनीसँग दृष्टि छ, योजना छ र जनसमर्थन बढ्दो छ।
उनी च्यालेन्जर पनि हुन पुरानो, जड र अवसरवादी राजनीतिलाई चुनौती दिने नेता। यही कारण उनीप्रति समर्थनसँगै विरोध पनि छ। तर परिवर्तनको यात्रामा विरोध स्वाभाविक हो।
नेपाली कांग्रेस सुदृढीकरण र दोस्रो विशेष अधिवेशन
नेपाली कांग्रेस सुदृढीकरणका लागि दोस्रो विशेष अधिवेशन महत्त्वपूर्ण मोड सावित भएको छ। यसले पार्टीभित्रको संरचनात्मक सुधार, नेतृत्व विकास र नीतिगत स्पष्टताको बहसलाई अघि बढाएको छ। यो प्रक्रिया सजिलो छैन विशेष गरी गगन थापा र युवा पुस्ताका लागि यो रिस्क पनि हो।
तर इतिहास सधैं जोखिम लिन सक्नेहरूले नै बदल्छन्। युवापुस्ताले नेतृत्वमा स्थान पाउन जोखिम लिनैपर्छ, पुरानो संरचनासँग जुध्नैपर्छ। कांग्रेसभित्रको यो संघर्ष अन्ततः पार्टीलाई मात्र होइन, देशलाई नै फाइदा पुग्ने संघर्ष हो।
देश तरकारी छानेको जस्तो होइन देश तरकारी छानेको जस्तो होइन आज नलागे भोलि फेर्ने। भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके देश प्रयोगशाला बन्छ, जहाँ असफल प्रयोगको मूल्य जनताले चुकाउनुपर्छ। यही कारण राजनीति हल्का विषय होइन, गम्भीर निर्णय हो।
आज नेपाललाई प्रयोग होइन, निर्माण चाहिएको छ। नाराभन्दा नीति, भावनाभन्दा क्षमता, र लोकप्रियताभन्दा विश्वसनीयता महत्वपूर्ण छ। गगन थापा र उनीजस्तै सोच भएका युवा नेताहरूले देश बनाउने जिम्मेवारी लिन अब ढिलो गर्नु हुँदैन।
युवा पुस्ता र देश निर्माण आजको राजनीतिक परिदृश्यमा एउटा कुरा स्पष्ट छ ,पुरानै शैलीले अब देश चल्दैन। सुशासन र समृद्धिको आधार नयाँ सोच, जवाफदेही नेतृत्व र युवाको सक्रिय सहभागिता हो। गगन थापा यो परिवर्तनको एक सशक्त प्रतिनिधि हुन।
देश बनाउने जिम्मा अब युवा पुस्ताको काँधमा छ। सही पार्टी, सही नीति र सही नेतृत्व चुन्न सक्यौं भने नेपाल प्रयोगशाला होइन, सम्भावनाको देश बन्छ। यही विश्वास, यही साहस र यही संकल्पले आजको राजनीतिलाई अगाडि बढाउन आवश्यक छ।
(लेखक नेविसंघ सर्लाही जिल्ला कार्यसमिति सदस्य हुन्)
उनी जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा अध्ययनरत छन् ।