
हरिवन, पुस— ३०, गते । हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा हरिवन स्वास्थ्य चौकीको सभा हलमा बुधवार योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । नियमित खोप कार्यक्रम, एचपीभी खोप अभियान, खोपबाट बचाउन सकिने रोगहरूको खोजपड्ताल तथा निगरानी, सरसफाइ सेसन प्रवद्र्धन कार्यक्रम र खोपको सूक्ष्म योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

स्वास्थ्य संस्था प्रमुख तथा खोप कार्यकर्ता स्वास्थ्यकर्मीहरूको सहभागितामा सम्पन्न गोष्ठीको सहजीकरण प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका खोप अधिकृत लक्ष्मेश्वर झा र स्वास्थ्य शाखाका सहसंयोजक श्याम विनोद कुशवाहाले गरेका थिए ।
नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुंयाल, सामाजिक विकास समितिका सदस्यद्वय अन्जना शर्मा शिवाकोटी र चिनीमा सिङ्गतान, स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी तथा जनस्वास्थ्य निरीक्षक सुरेश रायको उपस्थिति रहेको थियो। कार्यक्रममा हरिवन नगरपालिकाका ११ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा खोप कार्यकर्ता गरी २७ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले गोष्ठीको उद्देश्यसहित हरिवन नगरपालिकाको वडागत तथा समग्र खोप अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । प्रमुख चौधरीका अनुसार माघ महिनादेखि पूर्ण खोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मीमार्फत घरधुरी सर्वेक्षण गरी छुट भएका बालबालिकालाई छुट खोपको मात्रा दिइनेछ। साथै बैशाख महिनालाई ‘खोप महिना’का रूपमा मनाउँदै खोजौँ र खोपौँ अभियान सञ्चालन गरिने उनले जानकारी दिए।

त्यसैगरी फाल्गुण महिनामा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप अभियान सञ्चालन गरिने प्रमुख चौधरीले बताए । पूर्ण खोप वडा हुँदै पूर्ण खोप पालिका सुनिश्चित गरिने लक्ष्य रहेको उनको भनाई छ ।

कार्यक्रममा वक्ताहरूले पोलियो, जापानिज इन्सेफ्लाइटिस, दादुरा–रुबेला, नवशिशु धनुष्टङ्कारजस्ता खोपबाट बचाउन सकिने रोगहरूको खोजपड्ताल तथा निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । खोप कार्यक्रमसँगै सरसफाइ सेसन प्रवद्र्धनमा जोड दिइने, घरधुरी सर्वेक्षणका क्रममा गर्भवती महिलाको विवरण तथा टिडी खोपको अवस्थासमेत संकलन गरी लक्ष्यअनुसारको प्रगति हासिल हुने स्वास्थ्य शाखा प्रमुख चौधरीको विश्वास छ ।









