मलंगवा,पुस— २३ गते । जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति सर्लाहीको पहिलो बैठक बुधवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


बैठकमा तराई मधेशका केही जिल्लामा पछिल्लो समय धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा खलल पुग्ने खालका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सर्लाही जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्ने निष्कर्ष निकालेको छ ।


बैठकले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव कायम गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न सबैले आ आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने निर्णय गरेको छ । सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न जोकोहीलाई कानून बमोजिम कारबाही गरिने र सो कार्यमा सबै पक्षले आवश्यक सहयोग गर्ने सहमति जुटेको छ।


त्यसैगरी धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावमा असर पार्ने खालका समाचार वा सामग्री सम्प्रेषण नगर्न पत्रकार तथा सञ्चारकर्मीहरूलाई आग्रह गर्ने निर्णय गरिएको छ। जिल्लास्थित सबै स्थानीय तहमा समेत स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी तिनलाई सक्रिय बनाइने बैठकले निर्णय गरेको छ।
बैठकले सबै पक्षलाई संयमित भई आपसी सहिष्णुता, सहकार्य र समझदारीका माध्यमबाट शान्ति सुव्यवस्था कायम राख्न आग्रह गरेको छ। सोही निर्णयअनुसार बुधवार नै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षा कायम राख्न अपिल गर्दै एक विज्ञप्ति जारी गरेको छ।


प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाद्वारा जारी विज्ञप्तिमा तराई मधेशका केही जिल्लामा धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुग्ने घटनाहरू घटेकाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा सबै जातजाति, भाषा, धर्म, लिङ्ग र वर्गका नागरिकहरूलाई संयमित भई धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्दै शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न अनुरोध गरिएको छ ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएको र एकअर्काको धार्मिक आस्था, विश्वास तथा अस्तित्वको सम्मानले मात्र राष्ट्र र समाजको विकास सम्भव हुने उल्लेख गरिएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने खालका उच्छृङ्खल गतिविधि तथा द्वन्द फैलाउने सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण नगर्न आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्न पाइएमा कानून बमोजिम कारबाहीसमेत गरिने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ ।