
मलंगवा, असोज— २३ गते।
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश अध्यक्ष तथा पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादव सर्लाही जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । राजद्रोह लगायत तीन वटा मुद्दामा पक्राउ परेका यादवलाई अदालतले एक लाख ६० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो ।
यादवलाई भदौ २५ गते सर्लाही प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमै हुँदा आमाको निधन भएपछि उनलाई असोज ३ गते काजकिरियाका लागि अस्थायी रूपमा छोडिएको थियो । आमाको काजकिरिया सकेपछि उनी पुन ः अदालतमा उपस्थित भएका थिए ।

सर्लाही जिल्ला अदालत मलंगवाका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासबाट भएको आदेशअनुसार राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध र आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ३०÷३० हजार धरौटी तिरेपछि यादवलाई रिहा गरिएको हो ।
रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूले भ्रष्टाचार, अन्याय र अत्याचारको विरोधमा आवाज उठाएकाले राज्यबाट लांछित गरि मुद्दा लगाइएको आरोप लगाए । “राज्यद्वारा अभिव्यक्तिको अधिकार माथि दमन गरिएको छ,“ उनले भने, “तर अन्तत ः अदालतले न्याय दिएको छ ।”

यस अघि, गत असार १९ गते राति प्राविधिक कार्यालय मलंगवामा आर्थिक अनियमिततासम्बन्धी विवादमा सर्लाही प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच टेलिफोनमा तिक्त संवाद भएको थियो । सो घटनापछि यादवको घरमा प्रहरी छापा प¥यो, जसक्रममा प्रहरी गाडीमा क्षति र सुरक्षाकर्मी घाइते भएका थिए ।
त्यसपछिका दिनमा सामाजिक सञ्जालमा ’जय बिहार, जय भारत, जय मधेश’ जस्ता विवादास्पद अभिव्यक्तिहरू सार्वजनिक गर्दै यादवले मधेशको स्वतन्त्रताको पक्षमा बोलेका थिए । यिनै अभिव्यक्तिहरूले राज्यविरुद्धको षड्यन्त्रको संज्ञा पाउँदै उनीमाथि राजद्रोहको मुद्दा लगाइएको थियो ।

यादवको पक्राउविरुद्ध जसपा कार्यकर्ताहरूले सर्लाहीको मलंगवा, सलेमपुरलगायत स्थानहरूमा चक्काजाम, टायर बाल्ने, बजार बन्द गर्ने जस्ता विरोध कार्यक्रम सञ्चालन गरेका थिए । यादव पक्षधरहरू भन्छन्,“राजनीतिक अभिव्यक्तिलाई अपराध ठहर गर्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठ्छ ।”









