
कृष्ण थपलिया /सर्लाही असोज—१० गते । बडादशैंको घटस्थापना पछि सर्लाहीको लालबन्दी–७ स्थित खसी बजारमा करिब पौने २ करोड रुपैयाँ बराबरको खसीबोका तथा पाठापाठीको कारोबार भएको छ । घटस्थापना पछि गत सोमवार र बिहीवार गरी दुई वटा बजारमा झण्डै १ हजार ५० वटा खसीबोका, पाठापाठीको किनबेच भएको नगरपालिकाको कर असुली रेकर्डले देखाएको छ ।दशैं अघिको एउटा बजारमा अझ धेरै कारोबार हुने भएकाले यो संख्या बढ्ने अनुमान छ ।
दशैं नजिकिँदै गर्दा खसीबोका किनबेच गर्नेको संख्या बढिरहेको छ भने मूल्यमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । हाल लालबन्दीमा १५ किलो सम्मको जिउँदो खसीको मूल्य प्रति किलो ६५० रुपैयाँ र १५ किलोभन्दा माथिको खसीबोकाको मूल्य प्रति किलो ६०० रुपैयाँ रहेको स्थानीय व्यापारीहरू बताउँछन् ।

चुरे क्षेत्रका विभिन्न गाउँहरूबाट खसीबोका तथा पाठापाठी ल्याई लालबन्दी बजारमा बिक्री गरिन्छ भने यहाँबाट काठमाण्डौं, पोखरा, बीरगञ्ज लगायतका मुख्य सहरहरूमा व्यापारीहरूले खरिद गरेर लैजाने गरेका छन् । दशैंको नजिकिँदो चटारोमा बजारमा भीडभाड बढेसँगै उपभोक्ता भने मूल्य वृद्धिले चिन्तित देखिन्छन्। दशैंका लागि बोका किन्न लालबन्दी बजार आएका हरिवनका मीन प्रसाद मैनाली भन्छन्, “सोह्रश्राद्धको समयमा केही सस्तोमा पाइन्थ्यो, तर अहिले त छाइसाध्य छैन।” उदयपुर, कटारीतिरबाट सस्तो बोका आउँछ भन्ने सुनेर आएका मैनाली भन्छन्, “यहाँ पनि उस्तै रहेछ, हरिवनकै जस्तो।”कालो बोका देवाली पूजाका लागि चाहिने भएकाले किन्न आएको रगतकै मूल्य लिने रहेछन्,’ उनले भने । “मासु भन्दा पनि रगतको नै मूल्य लिन थालेछन्,” उनी भन्छन्, “किसानभन्दा बिचौलिया धेरै भएकाले यस्तो समस्या आएको हो।”यस वर्ष लालबन्दी खसी बजार ठेक्का नलागेपछि नगरपालिकाले नै अमानतमा ‘कौडी’ अर्थात राजस्व संकलन गरिरहेको छ । नगर प्रहरी खटाएर राजस्व संकलन गरिएको छ ।

यसले उपभोक्तालाई केही राहत सहुलियत भएको छ । नगर प्रहरी सहायक निरीक्षक लक्ष्मी प्रसाद अधिकारीका अनुसार, विगतका वर्षहरूमा भन्दा यो वर्ष उपभोक्ता र व्यापारीहरूले ‘कौडी’ मा झण्डै आधा मूल्य सहुलियत पाएका छन्।
हाल जिल्लाको उत्तरी चुरे क्षेत्र, सिन्धुलीको मरिण, उदयपुर, महोत्तरीको खयरमारा क्षेत्रबाट किसान तथा व्यापारीहरूले खसीबोका बिक्रीका लागि लालबन्दी ल्याउने गरेका छन् । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र मानिने लालबन्दीमा घटस्थापना यता दैनिकजसो बिहानैदेखि खसीबोका किनबेच गर्नेको भीड लाग्ने गरेको छ । यहाँ हप्तामा दुईपटक, सोमवार र बिहीवार मात्र लाग्ने खसी बजारमा सयौंको संख्यामा खसीबोका खरिद—बिक्री हुने गर्छ ।
जिल्लाका अन्य बजारहरू हरिवन, बरहथवा, नवलपुर, बयलवासमा पनि खसीबोकाको व्यापारीक चहलपहल देखिएको छ। यहाँका बजारमा हाल खसीको मासु प्रति किलो १,१०० रुपैयाँ र गाउँघरमा ९५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

बजारमा खसीबोकाको माग उच्च भएको र बिचौलियाको हालीमुहालीले गर्दा दशैंका बेला हरेक वर्ष उपभोक्ता उच्च मूल्य तिर्न बाध्य हुनु परेको स्थानीय उपभोक्ताहरूको गुनासो छ ।काठमाण्डौ लगायतका मुख्य सहरमा जस्तै यहाँ पनी सहुलेत मूल्य पसाल सञ्चालन गर्नु पर्ने स्थानीय उपभोक्ताहरु बताउछन् । यसले बिचौलियाको हालीमुहाली कमहुने उनीहरुको विश्वास छ ।









