![]()
सर्लाही,भदौ- १५ गते । सर्लाही क्षेत्र नम्बर ४ का दुई प्रदेश सांसदसहित स्थानीय तहका प्रतिनिधिहरूले हालै सरकारले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै आईतवार गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
![]()
नेपाल सरकार मन्त्री परिषद्को २०८२ भदौ ९ गतेको निर्णयअनुसार बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भए पनि, सो निर्णय जनताको सेवा सुविधा र सुरक्षाको दृष्टिकोणले उपयुक्त नरहेको भन्दै उनीहरूले गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएका हुन ।
![]()
ध्यानाकर्षण पत्रमा गोडैता, विष्णु, बलरा, रामनगर र धनकौलका पालिकाहरूमा सन्तुलित सेवा प्रवाहका लागि गोडैता नगरपालिका–७ मा इलाका प्रशासन कार्यालय स्थापना गर्नु पर्ने माग गरिएको छ।
भारतसँग सीमाना जोडिएको संवेदनशील क्षेत्र बलरा नगरपालिकाको सट्टा भौगोलिक रूपमा मध्य भागमा पर्ने गोडैता–७ मा कार्यालय राख्दा सबै पालिकाका नागरिकलाई सहज, सुरक्षित तथा सुलभ सेवा प्रवाह गर्न सकिने उनीहरूको तर्क छ।

ध्यानाकर्षण पत्रमा प्रदेशसभा सांसद तथा पूर्व स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह सर्लाही क्षेत्र नं. ४ (क), प्रदेश सांसद फकिरा महतो ४ (ख), गोडैता नगरपालिकाकी कार्यबाहक नगर प्रमुख अन्जना कुशवाहा, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहर राय तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह लगायतको हस्ताक्षर रहेको छ ।

उनीहरूले गृहमन्त्रीलाई सो निर्णय पुनर्विचार गरी सवै नागरिकको सहज पहुँच हुने गरि पाँच पालिकाे केन्द्र भाग गोडैता नगरपालिका वडा नम्बर -७ मा कार्यालय स्थापनाको लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।









