लालबन्दी, भदौ- ६,नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा तथा समाजसेवी स्वर्गीय वासुदेवशरण कोइरालाकाे सम्झना र सम्मान नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ले  श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
श्रद्धाञ्जली सभामालाई सम्बाेधन गर्दै नेपाली  कांग्रेसका पूर्व महामन्त्री,वर्तमान केन्द्रीय सदस्य  डा. शशाङ्क कोइरालाले दिवंगत नेता कोइराला जस्तो नेताले  युगले बिरलै पाउने बताए ।


लालबन्दी नगरपालिका–२, जुटपानीस्थित कोइरालाको निजी निवासमा आयोजित  श्रद्धाञ्जली सभामा डा. कोइरालाले वासुदेवशरण कोइरालाको त्याग र समर्पणले नेपाली राजनीतिलाई मार्गदर्शन गरेको बताए। “उहाँ जस्तो त्यागी र समर्पित नेता अब पाइँदैन,” डा. कोइरालाले भने, “उहाँको जीवन दर्शन र आदर्श हामी सबैका लागि प्रेरणाको स्रोत हुन्।”


वासुदेवशरण कोइरालाको जन्म वि.सं. १९८९ साल भाद्र कृष्ण चतुर्दशीका दिन भएको थियो। लोकतन्त्रका पक्षमा लामो समयसम्म सक्रिय रहनुभएका कोइरालाको ९४ वर्षको उमेरमा गत मंगलवार आफ्नै निवासमा निधन भएको थियो।
पूर्व महामन्त्री डा. कोइरालाले स्व. कोइरालाको राजनीतिक र सामाजिक जीवन अनुकरणीय भएको उल्लेख गर्दै देशमा राष्ट्रिय एकताको आवश्यकता अझै बलियो रूपमा महसुस गरिएको बताए।


कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, नेता रामचन्द्र तिवारी, गुरु बराल, शम्भुलाल श्रेष्ठ, दीपक अधिकारी, हरिबहादुर लुङ्गेली , लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी , उपमेयर कल्पना माया पाख्रिनलगायतले दिवंगत नेताको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए ।