
सर्लाही, भदौ -५, जिल्लाको हरिपुर्वा नगरपालिका–५ बाट २० केजी ३४० ग्राम लागुऔषध गाँजासहित सर्लाही प्रहरीले एक दम्पतीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषध गाँजा लुकाएर राखिएको सूचनाकाे आधारमा बिहिवार अपरान्ह ४ बजे अन्दाजी ४५ वर्षीय रुपेश साह र उनकी श्रीमती अन्दाजी ३५ वर्षीया प्रतिमा कुमारी साहको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रहरी चौकी हरिपुर्वा र इलाका प्रहरी कार्यालय केशरगन्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो।

जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक (प्र.नि.) रविन्द्र कार्कीको नेतृत्वमा ११ जना र इलाका प्रहरी कार्यालय केशरगन्जबाट (प्र.नि.) उमाकान्त जोशीको नेतृत्वमा ११ जना रप्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शेख हफ्जुल्लाहको नेतृत्वमा ४ जना,प्रहरी परिचालित गरिएको थियो।

खानतलासीका क्रममा रुपेश साहको पक्की घरको छतमा लुकाइछिपाई राखिएको अवस्थामा २० केजी ३४० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको रप्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शेख हफ्जुल्लाहले जानकारी दिए।










