ईश्वरपुर,वैशाख- ११, जिल्लाको ईश्वरपुर नगरपालिका ६ रहेको ईश्वरपुर मनकामना बोर्डिङ्ग स्कुलले ‘बाल हक तथा अधिकारको सुनिश्तिता’ भन्ने नारासहित १९ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
स्कुलका संस्थापक सुदिप कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका प्रमुख मेयर मनोज कुमार आचार्यको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुको विचार प्रस्तुतीसहित शिक्षाको सुधारमा स्थानीय सरकारको योजनासहितको सवाल जवाफ कार्यक्रम र शिक्षभन्दा अगाडि संस्कार नामक पुस्तक विमोचन गर्दै स्कुल प्राङ्गणमै लोकतन्त्र दिवस मनाइएको हो ।


दिवसका अवसरमा आयोजित कार्यक्रममा स्कुलका विद्यार्थीहरुले लोकतन्त्रको विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
उनीहरुको धारणापश्चात शैक्षिक विषयमा सवाल जवाफ गरिएको थियो । सो क्रममा विद्यार्थीहरुले नगर प्रमुख मनोज कुमार आचार्य र नगरका शिक्षा शाखा संयोजक दिनेश आचार्यलाई विद्यालयको पँहुचमा सबै बालबालिका अझै किन पुग्न सकेनन् ?, नगरको शैक्षिक योजनाहरु के–के छन् भनेर प्रश्न गरेका थिए ।
जवाफमा शिक्षा शाखा प्रमुख दिनेश आचार्यले विद्यार्थीले विद्यालय रोजेर पढ्न पाउने उनीहरुको अधिकार भएको बताए ।


त्यस्तै विद्यालयका संस्थापक सुदिप कार्कीले गरीबी र पैसा नभएकै कारण गरिव परिवारका विद्यार्थीले बिचैमा विद्यालय छाड्न  नपरोस् भन्ने उदेश्यले ‘अण्डर म्यानेजमेण्ट अफ सुदिप कार्की’  छात्रवृछि योजना ल्याइएको जानकारी दिए।
निजी स्कुलमा विद्यार्थी तान्ने उदेश्यले छात्रवृत्ति योजना आएको त होईन ? भन्ने प्रश्नको जवाफमा विद्यालयका संस्थापक कार्कीले बेलाबेलामा निजी विद्यालयहरुमाथि यस्तै खाले आरोपहरु लगाउने गरिएको भएपनि आफूहरुले ल्याएको छात्रवृति योजना सबै बालबालिकाले पढ्न पाउन् भन्ने निःस्वार्थ भावनाले नै ल्याएको बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी मनोज कुमार आचार्यलाई समेत विद्यार्थी र सञ्चारकर्मीहरुले प्रश्न राखेका थिए । जवाफमा  नगर प्रमुख आचार्यले आफ्नो पाँच वर्षे कार्यकालमा नगरको शैक्षिक सुधारसहित पाँच उदेश्य रहेको बताए ।


नगर प्रमुख आचार्यले कार्यकालको पहिलो वर्ष नगरको स्वास्थ्य सुधारमा काम गरेको, दोस्रो वर्ष शिक्षा क्षेत्रको सुधारको वर्ष बनाएको जानकारी दिए। त्यस्तै उनले अहिले आफ्नो कार्यकाल तेश्रो वर्षमा चलिरहेकोले नगरमा कृषि क्षेत्रको सुधारमा लागि रहेको बताए । उनले चौथो वर्ष पुर्वाधारको वर्ष हुने र  पाचौं वर्षमा बाँकी रहेको कामहरूको वर्ष घोषणा गरिने बताए ।
उनले मधेस प्रदेशका एक हजार एक सय ७२ वडामा ईश्वरपुर वडा नं ४ को कुनै बच्चा विधालय बाहिर नरहेको बताउदै अब भने संस्कार सहितको शिक्षामा अघि बढेको दाबी गरे  ।


कार्यक्रमकै अवसरमा नगर प्रमुख आचार्यले ‘शिक्षा भन्दा अगाडी संस्कार’ नामको पुस्तक विमोचन गरे । यो पुस्तक सुदिप कार्की नेतृत्वको विद्यालयहरुमा पठनपाठनसमेत हुनेछ । पुस्तक विमोचन गर्दै मेयर  आचार्यले एक सय पुस्तक आफूले विद्यालयकाे  छात्रवृत्ति अभियानमा सहयोग पुगाेस भन्ने उदेश्यकासाथ किनिदिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर प्रमुख आचार्यसहित सञ्चारकर्मीहरुलाई स्कुलका संस्थापक सुदिप कार्कीले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको कार्यक्रमका सञ्चालक तथा ईश्वरपुर मनकामना स्कुलका प्रिन्सीपल उदय बुढाथोकीले जानकारी दिए।
नेपालमा २०६२-६३ को दोश्रो जनआन्दोलन सफल भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाइने गरिएको छ ।