राजु तामाङ/बागमती
सर्लाही,चैत -७, जिल्लाकाे बागमती नगरपालिका-१२, युवा समाजसेवीले बौद्घिक अपाङ्ग र क्यान्सर पीडितलाई सहयोग गरेर जन्मदिन मनाएका छन ।
बुधवार समाजसेवी युवा जय बहादुर गोलेले जन्मदिनको अवसरमा बौद्धिक अपाङ्ग व्यक्तिहरुलाई कपडा वितरण र क्यान्सर पीडितलाई नगद सहयोग गरेका हुन ।
विपन्न बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई थोरै भएपनि राहत पुर्‍याउने उद्देश्य सहित मिष्ठान्न भोजन र कपडा वितरण गरेको उन बताए ।


उक्त वडाका ३२ जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई काल्साङ छ्योईखोर्लिङ गुम्बा परिसरमा एक कार्यक्रमका बीच मिष्ठान्न भोजन गराईएको थियो । भने उनीहरुलाई गोले दाम्पतीले कपडा समेत वितरण गरेका थिए ।
यस्तै सोही अवसरमा  गोलेले बागगती नगरपालिका-१२, निवासी ७ बर्षकी क्यान्सर पीडित बालिका ईशा जिम्बालाई उपचारको लागि नगद समेत सहयोग गरेका छन।
गोलेको पहलमा विभिन्न सहयोगी व्यक्तिहरुबाट क्यान्सर पीडित बालिकाको उपचारको लागि आर्थिक संकलन गरिएको थियो । संकलन भएको  ३८ हजार ९ सय ५० रुपैयाँ र गोलेले व्यक्तिगत १२ हजार ५० गरी जम्मा ५१ हजार नगद सहयोग हस्तान्तरण गरे । उक्त  रकम पीडित बालिकाका हजुरबुबा पुर्ण बहादुर जिम्बालाई हस्तान्तरण गरिएको हाे ।


पीडित परिवारले आर्थिक अभावमा बालिकाको ब्लड क्यान्सरको उपचारमा समस्या आएको भन्दै सहयोगको याचना गरेका छन।
पीडित बालिकाका हजुरबुबा पुर्ण बहादुरले नातिनीको उपचारमा सकेको आर्थिक सहयोग गरिदिन आग्रह समेत गरेका छन । पीडित बालिकाको हाल भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको  छ ।