महोत्तरी, पुस-२८,एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले  जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील  जीविकोपार्जन परियोजना अन्तर्गत कृषकहरुलाई करेसाबारी खेति सम्बन्धी २ दिने तालिम दिएको  छ ।
एकडारा गाउँपालिकाको वडा नं. २, ३, ४ र सम्सी गाउँपालिकाको वडा नं. २, ३ का गर्भवति तथा सुत्केरी महिला र कुपोषिति बालबालिका भएका घर परिवारलाई लक्षित गरी करेसाबारी खेति सम्बन्धी तालिम संचालन गरिएको  हो ।


घरमै अर्गानिक हरियो तरकारी उत्पादन गरी खान र पोषणको मात्रा पुरा गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाको जीविकोपार्जन कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो ।
गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा संचालित  २ दिने तालिमको सहजीकरण एकडारा गाउँपालिकाका कृषि अधिकृत उपेन्द्र महतो र सम्सी गाउँपालिकाका कृषि अधिकृत विकास साहले गर्नुभएको संस्थाले जनाएको छ  ।


तालिम पश्चात सहभागीहरुलाई तरकारीको बिउविजन तथा कृषि सामाग्री वितरण कार्यक्रममा बोल्नु हुँदै सम्सी गाउँपालिका वडा नं. २ का अध्यक्ष शेख अन्जारेले हरियो तरकारीले बालबालिकाको वृद्धि विकास र स्वास्थ्यमा प्रभावकारी भूमिका खेल्ने भएकोले आफ्नै बारीमा तरकारी उत्पादन गरी आफ्ना बालबालिकाहरुलाई पोषणयुक्त आहार खुवाउनु पर्ने बताउनुभयो ।
विशेष गरी गर्भवती तथा सुत्केरी र कुपोषित बालबालिका भएका विपन्न घरधुरीलाई लक्षित गरी संचालित उक्त तालिम पश्चात आफ्नै करेसाबारीमा तरकारी फलाएर पोषिलो खाना खान सहयोग पुग्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको संस्थाका फोकल पर्सन उमेश न्यौपानेले जानकारी दिनुभयो ।

शनिवार (आज) आयोजना गरिएको विउविजन वितरण कार्यक्रममा एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाका जम्मा २ सय जना सहभागीलाई विभिन्न ११ प्रकारको मौसमी बेमौसमी तरकारीको बिउ, हजारी, कुटो, खुर्पी, हँसिया आदि औजार समेत वितरण गरिएको संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
तालिममा एकडारा गाउँपालिका वडा नं. २ का २० जना, वडा नं. ३ का ४० जना र वडा नं. ४ का ४० जना तथा सम्सी गाउँपालिका वडा नं. २ का ६० जना र वडा नं. ३ का ४० जनालाई सहभागी गराई बिउविजन र कृषि सामाग्री वितरण गरिएको संस्थाको जीविकोपार्जन अधिकृत चौधरीले जानकारी दिनुभयो । तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक विधि प्रयोग गरी सहभागीहरुलाई तरकारी खेति सम्बन्धी ज्ञान दिइएको संस्थाले जानकारी दिएको छ ।