
सर्लाही,पुस—२७, मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वस्थ,शिक्षित र समृद्ध मधेस बनाउने अभियानमा एकजुट भएर लाग्न आग्रह गर्नुभएको छ । भौगोलिक रुपले सुगम भएपनि अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको स्वास्थ्य र शिक्षाको सूचकांक अत्यन्तै कमजोर रहेको बताउनुहुदै मन्त्री सिंहले यसलाई माथि उठाउन एकआपसमा मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
जिल्लाको लालबन्दी नगर अस्पतालको सेवा प्रारम्भ एवम् जनस्वास्थ्य प्रगोशाला समुद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री सिंहले एक ले अर्कोलाई दोष देखाउने प्रवृत्तिको अन्त्य नभएसम्म अहिलेको अवस्थामा सुधार ल्याउन नसकिने बताउनुभयो । उहाँले मधेश प्रदेशको बिकाशमा काठमाडौंलाई दोष दिएर नहुने बताउदै मधेसलाई स्वास्थ शिक्षित बनाउन यहाँको बिकाश गर्न आफैले जिम्मेवारी लिनु पर्ने बताउनुभयो ।

लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीको सभाध्यक्षतामा सम्पन्न समुद्घाटन समारोहमा मन्त्री सिंहले आफु मन्त्री भएपछि प्रदेशको ८ वटै जिल्लामा रहेका प्रादेशिक अस्पताललाई स्तरउन्नती गरि १०० बेडको बनाउन काम गरेको, जनकपुरको अस्पताललाई बिशिस्ट श्रेणी ३०० बेडको बनाउन कामगरेको बताउनुभयो । मन्त्री सिंहले प्रदेशका अन्य ६ वटा अस्पताललाई १०० बेडमा स्तरउन्नती गरिएको । प्रदेशमा थप ५ वटा नयाँ अस्पताल निर्माण गर्ने कार्य अघि बढाइएको बताउनुभयो । वैशाख देखि स्तरउन्नती भएका अस्पतालहरुमा थप जनशक्ति व्यवस्थापनका लागि ५०० जनाको भ्याकेन्सी मागेको बताउनुभयो । प्रदेशका १३६ वटा स्थानीय तहमा आफुले ल्याव र जनशक्ति व्यवस्था गरेको बताउनुभयो ।

लालबन्दी नगर अस्पतालको सेवा प्रारम्भ एवम् जनस्वास्थ्य प्रगोशाला समुद्घाटन पछि प्रयोगशाला निरीक्षण गर्नुहुदै मन्त्री सिंहले जेष्ठ तथा अति विपन्न नागरिक क्यान्सर, एचआईभी संक्रमित नागरिकलाई १० प्रतिशत मात्र शुल्क लिएर सेवा दिन आग्रह गर्नुभयो ।

मलंगवा र बिरगंजमा १० बेडको आर्युवेद अस्पताल बनाइएको । प्रदेशका विभिन्न आश्रममा आश्रितहरूका लागि घुम्ती स्वास्थ्य शिविर सुरु गरिएको बताउनुभयो ।नगरबाट आधारभूत सेवा सहज ढंगले प्रदान गर्न आग्रह गदै मन्त्री सिंहले आफ्नो पूर्व प्रतिवद्धता अनुसार बल्डबैक स्थापनाको लागि पनि बजेट व्यवस्था गरेको बताउनुभयो । नगर अस्पतालका लागि चाहिने सवै किसिमको हर सम्भव सहयोग गर्न आफु तयार रहेको बताउनुहुदै मन्त्री सिंहले ल्यावका लागि आवश्यक थप उपकरण सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो । लालबन्दी नगर अस्पताललाई जति पनि औषधी आवश्यक भए प्रदेशबाट ल्याउन आग्रह गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नगर प्रमुख(मेयर) वासुदेव अधिकारीले स्थानीयले दिएको म्याण्डेट र श्रोत साधन अनुसार आफुहरूले काम गरिरहे बताउनुभयो । नगर प्रमुख अधिकारीले संघीयताको मर्मअनुसर प्रदेश संग मिलेर काम गर्न आफुले चाहेको बताउनुभयो ।
स्थानीय डाक्टर,प्रमुख प्रशासकीय अधिकृत लगाएत सवै स्थानीय भएकाले स्वास्थ्य क्षेत्रको बिकाशमा एक ढिक्का भएर काम गर्ने विश्वास व्यक्त गर्नु भयो । आफुले धेरै ठुलो आशा नराखेको भएपनि यहाँका नागरिकले कम्तीमा उपचरको लागि बाहिर जानु नपरोस भन्ने चाहेको बताउनुभयो ।
आफुहरूले इमानदारीपूर्वक सेवा दिइरहेको बताउनुहुदै मेयर अधिकारीले शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर कामगरेको बताउनुभयो । मधेसमा प्रविधिक धारको शिक्षा लागि आफुहरुले काठमाण्डौं युनिभर्सिटी यहाँ स्थापना गर्न प्रयास गरिरहेको बताउदै, मेयर अधिकारीले प्रदेशकै आवश्यकता परिपूर्ति गर्ने भएकाले यसमा थप सहयोग गरिदिन मन्त्री सिंहलाई आग्रह गर्नुभयो । रंगशाला, पर्यटन प्रवर्द्धन गर्न त्रिभुवननगर दुम्जा सडक निर्माणका लागि प्रयास भइरहेको बताउनुहुदै यसमा सहयोग गरिदिन आग्रह गर्नुभयो । मेयर अधिकारीले सुगर,थाइराएड परिक्षणका लागि आवश्यक थप उपकरण उपलब्ध गरादिन स्वास्थ्य मत्री सिंह संग आग्रह गर्नु हुदै चुरे क्षेत्रको स्थलगत निरीक्षण गरि यस क्षेत्रलाई पर्यटकिय स्थलकोरुपमा बिकाशका लागि सहयोग गरिदिन आग्रह गर्नुभयो । मेयर अधिकारीले मन्त्री सिंहलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामविस्वास राय (दनुवार)ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संविधान सभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली मधेस जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर श्रवणकुमार मिश्राको बिशिस्ट आतिथ्यता रहेको थियो । बिशिस्ट अतिथि शम्भुलाल श्रेष्ठले, चाप अनुसार अस्पतालको सेवा विस्तार गर्न आग्रह गर्नुभयो ।अर्का बिशिस्ट अतिथि प्रदेश सभा सदस्य बेची लुंगेलीले पछिल्लो समय अस्पताल राम्रो भएको बताउदै जन अपेक्षा अनुरूपको काम गर्न आग्रह गर्नुभयो । उहाँले आवश्यक दरबन्दी र उपकरण उपलब्ध गराइदिन मन्त्री सिंह संग आग्रह गर्नुभयो । प्रेरणा र सर्पदंश उपचार केन्द्र लालबन्दीलाई बजेट उपलब्ध गराई दिएको भन्दै मन्त्री सिंहको प्रसंसा गर्नुभयो ।

कार्यक्रममा मधेस जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर श्रवणकुमार मिश्राले लालबन्दी नगर अस्पतालका रहेको जनस्वास्थ्य प्रयोगशालाले प्रदेशमै उत्कृष्ट कार्य गरेकाले आफुहरुले पुरस्कृत गरेको बताउनुभयो । पछिल्लो समय प्रदेशको प्रयोगशाला प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश स्वास्थ्य बिभागकी प्रमुख शर्मिला थापाले नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस सर्लाही क्षेत्र नंं १ (ख) का सभापति सीताराम दाहालले भवन मात्र भएर नहुने भएकाले श्रोत साधन र जनशक्ति व्यवस्थापन गर्नु पर्ने बताउनुभयो ।
नेकपा एमाले नेता गोविन्दबहादुर महतले स्वास्थ्य र शिक्षका लागि लालबन्दी नगरपालिकाले पूर्णरुपले ध्यान दिन आग्रह गर्नुभयो । जेष्ठ नागरिकलाई कम्तीमा महिनामा २ पटक घरमै गएर स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । जग्गा दाताका तर्फबाट बोल्दै कांग्रेसका युवा नेता प्रशान्त आचार्यले लालबन्दी नगर अस्पतालमा ट्रमासेन्टर स्थापनाका लागि पहल गरिदिन मन्त्री सिंह संग आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का रामनारायण चौधरी रास्वपाका नगर अध्यक्ष बालकृष्ण कार्की लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।









