सर्लाही,पुस-२१,सर्लाहीका प्रमुख जिल्ला अधिकारी काेमल प्रसाद धमलाले बरहथवामा निषेधाज्ञा आदेश जारी गर्नुभएको छ ।
हिजो (शुक्रवार ) साँझ ५:३० बजे देखी आज (शनिवार ) बिहान ८:०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएकोमा अहिले त्यस क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएकाे उल्लेखछ ।


हिजो (शुक्रवार) बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा नीजि सम्पति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारणा सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने अवस्था देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा आदेश जारी गरिए उल्लेखछ ।
निषेधाज्ञा आदेश (आज) शनिवार बिहान ८:०० बजे देखि भाेली(आइतवार) विहान ८:०० बजे सम्म कायम रहने जिल्ला प्रशासन कार्यालय मलंगवाद्वारा जारी गरिएको निषेधाज्ञा आदेश पत्रमा उल्लेखछ ।


स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम निषेधित क्षेत्रहरुमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा आदेश पत्रमा उल्लेख छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने उल्लेख छ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रहरूमा बरहथवा नगरपालिकाको पूर्वमा – सीतापुर जाने बाटोको ब्रह्यस्थान,पश्चिममा – हजरिया जाने बाटोको नहर,दक्षिणमा – हनुमान मन्दिर र उत्तरमा – सोती/चोर्निया पुल क्षेत्र रहेका छन् ।


हिजोकाे कर्फ्यु आदेश र आज निषेधाज्ञा आदेश जारी भएपछि बरहथवा बजार क्षेत्र आज सुनसान छ । स्थानीय प्रशासनले हिजो तनाव भएको ठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मी खटिएकाे छ।स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का ३० वर्षका जयशंकर साहको ज्यान गएको थियो । लगत्तै हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।
स्थानीय बासिन्दाले मृतकको शवसहित हिजो प्रदर्शन गरेका थिए । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताउनुभएको छ ।