
सर्लाही,पुस –२०, सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य संस्था स्तरोन्नतिकाे माग राख्दै नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले नगरपालिका ताेडफाेड र मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीहरूले गोली लागेर एक जनाको ज्यान गएको बताएका छन् । ज्यान गुमाउनेमा बरहथवा–५ का जयशंकर साह रहेका छन् । प्रहरीले भने एक जनाको ज्यान गएको खबर प्राप्त भए पनि पहिचान भइनसकेको बताएको छ ।
स्थिति नियन्त्रणमा लिन ठुलाे संख्यामा नेपाल प्रहरी र शस्त्र प्रहरी परिचालन गरिएको भएपनि स्थिति नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनकारीले शव जिम्मा लिएका छैनन् ।

गतवर्ष असोज ९ गते बसेको कार्यपालिका बैठकले स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको अस्पताल निर्माणका लागि पहल गर्न गरेकाे निर्णयबाट नगरपालिका पछि हटेको भन्दै कांग्रेसले विरोधमा प्रदर्शन गरेको हाे ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न तयार भएपनि नणरप्रमुख कल्पनाकुमारी कटुवालसहित नेकपा एमालेका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन गर्ने पक्षमा नदेखिए पछि कांग्रेसले त्यसको विरोधमा प्रदर्शन गर्दै आएको छ।









