
मलंगवा,कार्तिक-१४,सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार (थारु) का अनुसार प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेका अन्दाजी ३ लाख ७३ हजार ६०० सय बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको हाे ।
प्रहरीले कार्तिक १३ र १४ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा बरामद भएका सामनाहरूमा चिनी ४१५ के.जी, खानेतेल ६० लिटर, बिस्कुट ५ कार्टुन,फुर्टी ३ कार्टुन,रिफाईन तेल ४ कार्टुन,सरफ १ बोरा, चिम २० प्याकेट, टु पिन प्लक १५ कार्टुन,बिडी ३ बोरा,तिल १८ बोरा( अन्दाजी .९०० के.जी.),रंगोली २७ पाकेट( २९६ पिस) झिलीमिली बती १५प्याकेट,विभिन्न रंगको अबिर २३९ पोका,ठुलो चुरा ५७ पाकेट, सानो चुरा १८७ पाकेट , सिल्क साडी ८ पिस,पेटीकोट थानवाला कपडा ४ पिस (८०मिटर) सुतीको कपडा ५ पिस,तन्ना १ पिस , मदिरा ६० लिटर रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

यस अघि असाेज २८ गते देखी कार्तिक ११ गते सम्ममा प्रहरीले अवैध भन्सार छलीका अन्दाजी ३३,७१,०२० बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।









