सर्लाही,असाेज-२७,नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रादेशिक भेला ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।


नेपाल प्रेस युनियन मधेस प्रदेश समितिको आयोजना तथा नेपाल प्रेस युनियन सर्लाही शाखाको आतिथ्यतामा प्रेस युनियनको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा सघन छलफल गर्दै सम्पन्न भएको हाे ।


असोज २६ र २७ गते सर्लाहीको लालबन्दीमा सम्पन्न भेलाले ८ बुँदे लालबन्दी घोषणा पत्र जारी गरेको छ ।
भेला पश्चात युनियनको मधेस प्रदेश महासचिव अजयकुमार साहद्वारा जारी गरिएको घोषणा पत्रमा नेपाल प्रेस युनियनलाई सबल, सक्षम र श्रमजीवी पत्रकारहरूका हितमा पक्षमा काम गर्दै गतिशील संगठन बनाउन मधेस प्रदेशका आठ वटै जिल्ला समितिलाई परिचालन गर्ने , प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिता तथा सञ्चार माध्यमको संस्थागत विकास गर्नका लागि सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने घाेषणा पत्रमा उल्लेख छ ।


नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनलगायतका संस्थाहरूबीच भएका पूर्व सहमति विपरीतका कार्यप्रति प्रेस युनियन मधेस प्रदेश समितिकाे ध्यानाकर्षण भएको घाेषणा पत्रमा उल्लेख छ।
घाेषणा पत्र मार्फत सदस्यता शुद्धीकरणका नाममा भएका कतिपय गतिविधिबाट व्यावसायिक तथा मापदण्ड पुरा गरेका पत्रकारहरु वञ्चित भएकाले न्यायोचित रुपमा मापदण्ड अनुसार पत्रकारलाई सदस्यता दिने व्यवस्था मिलाउन पत्रकार महासंघको ध्यानाकर्षण समेत गराइएको छ।
त्यसैगरी घोषणा पत्रमा नेपाल पत्रकार महासंघमा सबै आस्था, विचार भएका पत्रकार सम्बद्ध संस्थाहरुलाई समेटेर नेपाल प्रेस युनियनको नेतृत्वमा पत्रकार महासंघको सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने , व्यावसायिक पत्रकारिताको विकास, दक्ष जनशक्ति उत्पादन, विधागत पत्रकारिताको प्रवर्द्धनका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण वर्ष २०८० लाई सफल बनाउन युनियनको प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने ,सञ्चार माध्यम र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले सञ्चार माध्यमलाई दिने लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमहरुको संरक्षण र संवर्धानमा विशेष जोड दिँदै पत्रकारको क्षमता विकासका लागि बजेटको व्यवस्था गर्न जोडदार माग समेत गरेकाे छ।
गोलभेँडाको सहरका नामले परिचित सर्लाहीको लालबन्दी नगरमा कृषिक्षेत्रको दिगो विकासमार्फत् पर्यटन प्रवर्द्धनका लागि ठोस तथा उपलब्धिमूलक काम गर्न सम्बद्ध निकायसँग माग गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ।


नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्षद्वय जीवन भण्डारी, अनिल कर्ण र महासचिव दिलिप पौडल , सचिव अजित तिवारी तथा प्रदेश भरिका आठ वटै जिल्लाका प्रजातान्त्रिक पत्रकारको सहभागिता रहेको भेलाकाे मधेस प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री,भाैतिक पूर्वाधार बिकाश मन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहले नेपाली कांग्रेस मिसन २०८४ लाई सफल बनाउन प्रेस युनियन सम्बद्ध पत्रकारलाई आग्रह गरे ।
उनलेे पछिल्लो समय कांग्रेसका गतिविधिलाई प्रचारप्रसार गर्न प्रेस युनियनको भुमिका गौण रहेको उल्लेख गर्दै, युनियन र कांग्रेस बीच बढ्दो तिक्तताको अन्त्य हुनुपर्नेमा जाेड दिए ।
त्यस्तै लालवन्दी नगरपालिकाका नगरप्रमुख(मेयर) बासुदेव अधिकारीले लोकतन्त्रमा निरंकुशता सह्य नहुने बताए । उनलेे आफ्नो नगरबाट अघि बढाइएका सम्पूर्ण कार्यक्रम लोकतन्त्र र जनताको पक्षमा रहेको उल्लेख गरे । लोकतन्त्रको भविष्य यसको सुदृढीकरण, विकेन्द्रीकरण अधिकारकाे सुनिश्चितताबाट गर्नु पर्नेमा उनको जाेड थियो ।

प्रेस युनियन मधेस प्रदेश समिति र सर्लाही शाखाद्वारा प्रदान गरिएको सम्मान पत्र ग्रहण गर्दै ,मधेस प्रदेश सरकारका भाैतिक पूर्वाधार बिकाश मन्त्री कृष्णप्रसाद यादव ।
नेपाल प्रेस युनियन मधेस प्रदेश र सर्लाही शाखाद्वारा प्रदान गरिएको सम्पन्न पत्र ग्रहण गर्दै ,मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह ।