लघुकथा
                  

विवश पाैडेल…..✍️

बुद्धिनाथ बर्ताैला निकै तीक्ष्ण बुद्धिका थिए।भाग्यले सबैथाेक दिदैन भनेझैं उनी झिना र वर्णशङ्कर थिए। पढाइ त उनकाे त्यत्तिकै राम्रो हुने भइहाल्यो ।कहिले के कहिले के नमिलेर हाे कुन्नि साढे चाैंतीस वर्षको उमेरमा बल्लबल्ल खरदारमा जागिर खाए।


हाम्रा दाइ र उनी सँगसँगै खेलेका साथी अरे।बा भन्नुहुन्थ्यो -“बुद्धिनाथ नाम अनुसारकै मान्छे थिए।” बुद्धि जतिसुकै भएपनि कन्या कतै फेला पार्न सकेका थिएनन्।उनलाई त पानाकाे गुलाम देखेपनि मन पर्थ्याे तर कन्याले घाँस नहालेपछि तारतम्य मिलेकाे थिएन।
खरदारमा नाम निस्किएको भाेलिपल्टै टङ्के साहुले घरै आएर छाेरी टक्र्याए।धुमधामसँग बिहे भयाे। टङ्के साहुकी छाेरी छुँदा दाग लाग्ने थिइन्।अहिले त नयनतारा,जया प्रदा भन्दा कम छैनिन्,त्यतिबेला कस्ती थिइन् हाेला?
स्याने भाञ्जा,हाम्रा दाजु,बाउन्दाइहरू गफ गर्थे,टङ्के साहुकी छाेरी पाए त यार,सात छाक भात खान्नथेँ।
तर छुँदा दाग लाग्ने कन्या बर्ताैलाले भित्र्याए।बा र बुद्धिनाथकाे उमेर बीस वर्ष फरक थियाे।बुद्धिनाथ खरदार,सुब्बा,अधिकृत उपसचिव ,सहसचिव हुँदै अर्थमन्त्रालयकाे सचिव पनि भए।एकपटक बुद्धिजीवी परिषदकाे अध्यक्ष पनि भएका थिए।उनलाई विश्वकै अर्थव्यवस्थाकाे राम्रो ज्ञान थियाे।साढे सत्र वर्ष कान्छी कन्या भित्र्याएका उनी झन् बुढा र उनकी कन्या झन् तरुणी लाग्थ्यो ।जे हाेस् अरू चर्तिकला जे सुकै भएपनि टङ्के महाजनकी छाेरी भएकाेले गृहस्थी समालेकै थिइन्।


बाले भन्नुभयो -“जा,बर्ताैला काकालाई भेट,जागिर लगाइदिन्छ।”
म मिनभवन क्याम्पस पढ्थेँ।जागिर खाने लाेभले भेट्न गएँ। मन्त्रालय छिर्ने गेटमै कुरेर बसेँ। त्यहाँसमेत उनकै बुद्धिकाे चर्चा थियाे।लाग्थ्यो ,उनीजस्ता बुद्धिमान् तीन त्रिलाेक चाैध भुवनमा काेही छैन।
देख्नेबित्तिकै भनेँ-” काका नमस्कार ।”
उनले नमस्कार फर्काउँदै भने-
“ए! कान्छा,तँ आइस्?हिँड्,घरै गएर कुरा गराैँला।”
बाटामा सागकाे मूठाे किन्दै भने-“काकीले साग ल्याउनू भनेकी छे।”
बर्ताैला काकाले बाटोमा धेरै ज्ञानका कुरा गरे,त्यति त मैले युनिभर्सिटीमा पनि पढेकै थिइनँ।
उनकाे विद्धता देखेर म साह्रै प्रभावित भएँ।
घर पुग्ने वित्तिकै उनकी श्रीमतीले भनिन्-” पाँच बजे छुटेकाे अफिस,घर आउँदा सात बज्छ,काम छैन ,गफ लडायाे…।”
फेरि झाेलाकाे साग हेर्दै झ्वाँक्किएर भनिन्- ” रायाेकाे साग लिएर आउनू भनेकाे ताेरीकाे लिएर आउनुभएछ।हजुरको त पाँच पैसाकाे बुद्धि छैन।”