
ईश्वरपुर, कम गुणस्तर भएको चामल भारतीय ब्रान्डको बोरामा प्याक गरी बिक्री गरेको आरोपमा न्यु वैदेही खाद्य उधोगका सञ्चालक झपेन्द्र साहलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको ईश्वरपुर नगरपालिका–७ बयलबास बजारस्थित न्यु वैदेही खाद्य उधोगका सञ्चालक सहाले गुणस्तर हिन चामल बेचेर उपभोक्ता ठगेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो ।

उद्योगका सञ्चालक साहले भारतीय ब्रान्डका बोरामा नेपाली कमसल जातको चामल राखेर बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उपरीक्षक सुवेदीका अनुसार साहले भारतबाट खाली बोरा ल्याएर नेपाली कमसल चामल प्याक गरी उत्कृष्ट गुणस्तरीय चामल भनी बिक्री वितरण गर्दै आएका थिए ।
प्रहरीले उद्योगबाट १ सय ४६ भारतीय बोरामा प्याक गरेको गुणस्तरहीन चामलसहित २ सय ५१ खाली बोरा बरामद गरेको जनाएको छ ।
साहलाई कालोबाजारी गरेको आरोपमा अनुसन्धान अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।










