काठमाडौं, भाद्र १—प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । मंगलवार (आज) राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन ।
सम्माननीय राष्ट्रपति श्रीमति वद्यादेवी भण्डारी समक्ष नेपालको संवधानको धारा १६७ बमोजिम श्री हरिशंकर मिश्रले प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर डा.राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । बर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले डा. अहिराजलाई हटाएर मिश्रलाई नियुक्तिको सिफारिस गरेको हो ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाको उपस्थिति रहेको थियो ।
महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।