मलंगवा,जेठ १८—अदालतले मागेको धरौटी बुझाउन नसकेपछि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएको अभियोगमा पक्राउ परेका शिवजी साह तेली र उनकी श्रीमती पुर्पक्षको लागि थुनामा गएका छन् ।
जिल्ला अदालतको जेठ १७ गते पक्राउ प्रतिवादी मध्येका शिवजी साह तेलीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो भने प्रतिवादी मध्येकी सुनिता देवी साह तेलीसंग रु २५,०००।– (पच्चीस हजार) धरौटी माग गरेको थियो । अदालतको आदेश अनुसार धरौटी बुझाउन नसकेपछि सुनिता देवी पनि थुनामा गएकी हुन् । कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादीहरु शिवजी साह तेली र सुनिता देवी साह तेलीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान पश्चात् सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । गत वैशाख २० गते ईश्वरपुर नगरपालिका–१२, घारिबथानका ५८ वर्षिय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर फरार भएका स्थानिय ३५ वर्षिय शिवजी र उनकी श्रीमती सर्लाही प्रहरीको हिरासतमा थिए । साहलाई ईलाका प्रहरी कार्यालय, केशरगञ्जका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमावर्ती क्षेत्रस्थित मलंगवा नगरपालिका–५, भाडसरबाट पक्राउ गरेको थियो । साहले पेट्रोल छर्की आगो लगाउँदा घाईते भएका शियाशरण रायको बैशाख २१ गतो काठमाण्डौँस्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममो मृत्यु भएको थियो ।









