
राधेश्याम कुशवाहा/सर्लाही
मंसिर – २०,जिल्लाको बलरा नगरपालिका गडहिया डुमरियामा पहिलोपटक आयोजना गरिएकाे जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला २०८१ बाट यहाँका विद्यार्थीले राम्रो लाभ लिन सफलता भएका आयोजकले निष्कर्ष निकालेकाे छ ।
बलरा नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्वर ८ गडहिया डुमरिया स्थित श्री जनता माध्यमिक विद्यालयमा पहिलो पटक जिल्ला स्तरीय दुई दिवशीय विज्ञान प्रदर्शन मेला हिजो बुधवार सम्पन्न भएको हाे।

उक्त प्रदर्शनी विज्ञान तथा नयाँ प्रविधि तर्फ रुची राख्ने विद्यार्थीहरुका लागि कोशेढुंगा सावित भएको आयोजक बलरा नगरपालिका का मेयर रामाशंकर कुशवाहाले बताए ।
“विज्ञान र नविनतम प्रविधिको यात्रामा सबैको साथ र सहभागिता” भन्ने मुल नारा सहित विज्ञान तथा प्रविधि संग सम्बन्धित बाल प्रतिभा खोजि का लागि सर्लाही जिल्ला स्तरिय विज्ञान प्रदर्शनी मेला भव्यताकासाथ सम्पन्न भएकाे हाे।
दुई दिवशीय विज्ञान प्रदर्शनी मेलालाई संघिय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भटटराइले उद्घाटन गरेका थिइन्। मेला उद्घाटनका लागि सर्लाही आएका मन्त्री भट्टराईलाई कार्यक्रममा भव्य स्वागत गरिएको थियो ।
प्रदर्शनी कर्यक्रममा प्रतियोगिताका लागि ७४ वटा परियोजना रहेको थियो भने प्रदर्शनीका लागि एक सय भन्दा बढी परियोजना रहेको थियो ।

१४ वटा स्थानिय तहको ३७ वटा विद्यालयले सहभागिता रहेको थियो । कर्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्च पास र स्वागत नृत्य मार्फत प्रमुख अतिथिलाई स्वागत गरेका थिए । विभिन्न विद्यालयले सांस्कृतिक कार्यक्रम तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
विज्ञान प्रदर्शनी मेलामा उत्कृष्ट भएका विद्यालयलाई पुरस्कार वितरण,विज्ञान प्रदर्शनी मेलाको दोस्रो दिन प्रमाणपत्र पत्र वितरण तथा पुरस्कार वितरण वितरण समारोहका अतिथि नेपालका वैज्ञानिक तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाविर पुनको उपस्थिति रहेकाे थियो ।
पुनको हातबाट प्रर्दशनीमा भाग लिएका सम्पुर्ण विधालयलाई प्रमाणपत्र तथा विजेता विद्यालयलाई पुरुस्कार वितरण गरिएको बलरा नगरपालिकाले जनाए ।
विज्ञान प्रदर्शनी मेलामा उत्कृष्ट भएका माध्यमिक विद्यालयहरुमा लाली गुराँस इंग्लिस ऐकेडेमी, इश्वरपुर नपा ६ सर्लाही प्रथम, जनता माध्यमिक विद्यालय कौडेना गाउँपालिका ३ पर्सा दोश्रो र चक्र जनता सहिद गंगा माध्यमिक विद्यालय बरहथवा ५ तेश्रो, जनता मावि गोडैता नपा ५ रामवन र रामसखी मोहित सिंह जनता मावी बलरा ४ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी आधारभुत विद्यालय तर्फ जनज्योति नमूना मावि लालबन्दी- १० प्रथम, महेन्द्र जनता मावि वागमती नपा- ११ कर्मैया दोश्रो, सागरमाथा आधारभुत आवासीय विद्यालय मलंगवा १० तेश्रो, नवजनजागरण मावी वागमती नपा- ८ शंकपुर र श्रीमती कृष्णादेवी जनता मावी मलंगवा ९ लाई सान्त्वना पुरस्कार दिएको आयोजक बलरा नगरपालिकाले जनाएकाे छ।
प्रतियोगिता र प्रदर्शनीमा भाग लिएका विद्यालयहरू तथा अवलोकनमा सहभागी भएका शिक्षक, विद्यार्थी एवम् शिक्षाप्रेमी, बुद्धिजीवीहरूलाई बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले धन्यवाद व्यक्त गरेका थिए।









