धनकौल,बैशाख—१६।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वसाधारणलाई सानो सामान ल्याउँदा समेत दुःख दिने प्रवृत्ति रोक्न सरकारसँग आग्रह गरेका छन्।
उनले सरकारले नागरिकलाई सुख दिन नसक्ने भए कम्तिमा दुःख नदिन चेतावनी दिएका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौल बजारमा आयोजित कार्यक्रममा बोल्दै थापाले १०० रुपैयाँसम्मको सामान ल्याउँदा पनि झोला खोतलखातल गरेर सास्ती दिने कार्य बन्द गर्नुपर्ने बताए । उनले यस्तो व्यवहार तत्काल नरोके आन्दोलनको अवस्था आउन सक्ने चेतावनी दिए। “अहिले हामी यस्तो नगर्नुस् भनेर अनुरोध गरिरहेका छौं, मानिएन भने पछि मुठ्ठी कसेर सडकमा आउनुपर्ने हुन्छ,” उनले भने। प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक मतदातालाई धन्यवाद दिन तथा पार्टीको ‘जरा अभियान’ अन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा आएका थापाले सरकार परिवर्तन भएको बहानामा कांग्रेस समर्थकलाई लक्षित गरी दुःख दिने सोच राखिएको भए त्यस्तो मानसिकता परिवर्तन गर्न आग्रह गरे। उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिए।“सम्पत्ति छानबिन गर्नुपर्छ भने सबैभन्दा पहिले मलाई गर, पूर्व सभापतिलाई गर, सबैले कानुन मान्नुपर्छ,” उनले भने, “तर सरकारले पनि कानुन मान्नुपर्छ। यहाँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले कांग्रेसलाई मात्रै कानुन लाग्छ, अरूलाई लाग्दैन भन्ने ठाने भने त्यो स्वीकार्य हुँदैन।” यस्तो अवस्था आए कांग्रेस चुप लागेरनबस्ने उनले चेतावनी दिए।

नेपाली कांग्रेस क्षेत्रीय समिति–४ द्वारा आयोजित उक्त कार्यक्रममा थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउने र मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने उद्देश्य रहेको बताए। उनले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा नियमित रूपमा उपस्थित हुने प्रतिबद्धता जनाउँदै कम्तिमा महिनामा एकपटक आउने प्रयास गर्ने बताए।
थापाले आफ्नो क्षेत्रको विकास र राजनीतिक सक्रियतालाई उदाहरणीय बनाउने लक्ष्य रहेको उल्लेख गर्दै कार्यकर्तालाई एकजुट भएर काम गर्न आग्रह गरे। “आउँदो समयमा सभापतिको क्षेत्र कस्तो हुन्छ भन्ने अरूलाई देखाउनुपर्छ,” उनले भने ।

यसैबीच, थापाले वर्तमान सरकारप्रति पनि कडा आलोचना गरे। उनले आफ्नै बहुमत भएको संसदप्रति सरकारको विश्वास नरहेको टिप्पणी गरे। “सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ,” उनले भने, “संसदको मिति तोकेर आह्वान भइसकेको अवस्थामा कुनै सूचना बिना बैठक स्थगित गर्नु गैरजिम्मेवारी हो।”
संसद छल्दै अध्यादेश ल्याउने तयारीप्रति लक्षित गर्दै उनले सरकारको कार्यशैलीप्रति आपत्ति प्रकट गरे । नागरिकलाई जानकारी नदिई निर्णय गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले यसको आलोचना गरे। सांसदकै अनुरोधमा बैठक स्थगित गरिएको भन्ने प्रचारलाई उनले भ्रामक र असत्य बताए ।
संवैधानिक परिषद्को संरचना र नियुक्ति प्रक्रियामा पनि सरकारले एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप थापाले लगाए। उनले विगतका सरकारजस्तै अहिले पनि आफूअनुकूल निर्णय गर्ने प्रवृत्ति दोहोरिएको बताए। “हामी सुधारका पक्षमा छौं, तर प्रतिपक्षसँग कुनै छलफल नगरी अघि बढ्नु गलत हो,” उनले भने। सरकारले शासकीय सुधारका काममा सहकार्य गर्न चाहे कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले सदन र अन्य दललाई पेलेर अघि बढ्ने प्रयास भए त्यसको प्रतिवाद गरिने स्पष्ट पारे।









