लालबन्दी,चैत-२८ । प्रथम लालबन्दी मेयर गोल्डकप २०८२ फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक जीवेश्वर युवा क्लबले आयव्यय विवरण सार्वजनिक गरेको छ।
क्लबले शनिवार बिहान पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गर्दै सहयोगी निकाय तथा व्यक्तिहरूप्रति आभार व्यक्त गरेको हो।
माघ १६ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिता सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दीपेन्द्र)ले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ स्तरीय प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।लालबन्दी–१ स्थित रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलन क्लबका अध्यक्ष दीप बहादुर बुढाथोकी (दीपेन्द्र)काे अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष हरिहर भट्टराईकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि कुल २७ लाख ७६ हजार ८०६ रुपैयाँ खर्च भएको छ।
जसअन्तर्गत सबैभन्दा बढी रकम टिमहरूको यातायातमा ६ लाख २८ हजार रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै प्रथम तथा द्वितीय पुरस्कारतर्फ ४ लाख ५० हजार, चिया–खाजा तथा अतिथि सत्कारमा २ लाख ८२ हजार १५६, प्रचारप्रसारमा १ लाख ५८ हजार ९३५, निर्णायक खर्चमा १ लाख ३६ हजार, टेण्ट तथा डेकाेरेशनमा १ लाख २८ हजार ४०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।यसैगरी खेलकुद सामग्री खरिदमा ८९ हजार १००, प्रशिक्षक तथा व्यवस्थापनमा ५८ हजार ५००, सम्मान तथा कदरपत्रमा १ लाख ५४०, शिल्ड, मेडल तथा प्रमाणपत्रमा १ लाख ५ हजार ४५० रुपैयाँ खर्च भएको छ। मर्मत सम्भार तथा शौचालय निर्माणमा २ लाख २४ हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ।
प्रतियोगिताबाट कुल ३३ लाख २९ हजार ७६ रुपैयाँ आम्दानी भएको छ। जसमा मुख्य प्रायोजक लालबन्दी नगरपालिकाबाट ६ लाख ७५ हजार ६१८ रुपैयाँ प्राप्त भएको छ भने वडा नम्बर १ बाट २ लाख ४१ हजार ३०० र वडा नम्बर २ बाट ९६ हजार ५१० रुपैयाँ सहयोग प्राप्त भएको छ।
यसैगरी प्रथम पुरस्कार प्रायोजकबाट ३ लाख र द्वितीय पुरस्कार प्रायोजकबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ। टिकट बिक्रीबाट ४९ हजार ६००, ठेला भाडाबाट १४ हजार ८००, सहयोग तथा चन्दाबाट ६ लाख ५९ हजार ५६२ तथा चेक र क्यूआरमार्फत ११ लाख ४१ हजार ६०६ रुपैयाँ संकलन भएको विवरणमा उल्लेख गरिएको छ।
प्रतियोगिताबाट ५ लाख ६२ हजार २७० रुपैयाँ बचत भएको क्लबले जनाएको छ । साथै १ लाख ३४ हजार ९९ रुपैयाँ उठ्न बाँकी रहेको र हाल बैंक मौज्दात ४ लाख २८ हजार १७१ रुपैयाँ रहेको आयोजकले जनाएको छ।अध्यक्ष बुढाथोकीले प्रतियोगिता सञ्चालनमा आर्थिक पक्ष प्रमुख चुनौती भए पनि सबैको सहयोगले उक्त चुनौती पार गर्न सफल भएको बताए। “संरचना निर्माण मात्र पर्याप्त हुँदैन, त्यसको नियमित प्रयोगका लागि यस्ता प्रतियोगिता आवश्यक हुन्छन्,” उनले भने, “आगामी दिनमा पनि सबैको साथ र सहयोग रहने विश्वासका साथ अझ उत्कृष्ट प्रतियोगिता आयोजना गर्नेछौं।”
कार्यक्रममा सर्लाही जिल्ला फुटबल संघ, स्थानीय तह, विभिन्न व्यवसायी, स्वदेश तथा विदेशमा रहेका सहयोगी दाताहरू तथा खेलप्रेमीहरूको उल्लेखनीय योगदान रहेको आयोजकले जनाएको छ।
साथै प्रतियोगिता सफल बनाउन प्राविधिक रूपमा सहयोग गर्ने व्यक्तिहरू, आर्थिक समिति तथा स्वयंसेवकहरूको भूमिका प्रशंसनीय रहेकाे अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पहिलो संस्करणको सफलताले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाउने आधार तयार भएको अध्यक्ष बुढाथोकीले बताए ।









