मलंगवा, फागुन –७, सर्लाहीमा पनि विविध कार्यक्रम गरी ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा आज बुधवार सदरमुकाम मलंगवामा प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान र मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको हो । दिवसको अवसरमा बिहान मलंगवा बजार क्षेत्रमा प्रभातफेरी निकालियो ।


त्यसपश्चात जिल्ला प्रशासन कार्यालयमा झण्डोत्तोलन र रक्तदान कार्यक्रम , तीन बिघे मैदानमा राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।
मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा कर्मचारीको टिमले जनप्रतिनिधिको टिमलाई १०५ रनले पराजित गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजक कौशलकिशोर सिंहको अध्यक्षतामा आयोजित प्रजातन्त्र दिवस समारोहमा सुरक्षा अधिकारी, कार्यालय प्रमुख, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजलगायतको उपस्थिति रहेको थियो ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्लाका सरकारी कार्यालय तथा निकायमा झण्डोत्तोलनसहितका कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज साँझ जिल्लाभर दीप प्रज्वलन गर गरिएको छ ।२००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।