विराटनगर,असाेज-१०,कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेका अनुसार बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको लिइएको छ । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ ।
चालक १, सहचालक सहित बसमा रहेका सवै यात्रुको सकुशल उद्धार गरिएको छ । सबै यात्रुलाई स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पठाएको डीएसपी न्यौपानेले बताए ।


दुर्घटनामा मानवीय क्षति नभएको उनलेे बताए । उद्धार गरिएका सबैको अवस्था सामान्य छ ।
यसअघि घटनास्थलबाट २० जनाको उद्धार गरिएको भनिएपनि १७ जना रहेको खुलेको छ । न्यौपानेले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको डीएसपी न्यौपानेले जानकारी दिए ।
उनका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट साँझ ६ः१० बजेतिर सप्तकोशी नदीमा खसेको थियो । बस खसेको स्थान सप्तरीमा पर्छ ।


सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बस नदीमा खसेको डीएसपी न्यौपानेले जानकारी दिए ।
‘विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर सप्तकोशी नदीमा खसेको हो,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेको थियो ।’ दुर्घटनाको कारण थप अनुसन्धानपछि पत्ता लाग्ने उनले बताए ।
उनका अनुसार नदीमा खस्ने क्रममा बसले ब्यारेजको पुलका बारहरु भत्काएको छ । बस अहिले पनि नदीमै रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको न्यौपानेले बताए । सप्तरी र सुनसरीबाट खटिएका प्रहरी तथा स्थानीय उद्धारमा सक्रिय भएर लागेका थिए ।


ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो । पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन । जसका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
‘केही वरपरका अरु ढोका खुला भएपनि बस खसेको स्थानको ३५ नम्बरसहित आसपासका ढोकाहरु खुला थिएनन्,’ न्यौपानेले भने, ‘ढोका खुला नभएको ठाउँमा पानीको सतह कम भएकैले बस डुब्न पाएन ।’
न्यौपानेका अनुसार पानीको सतह कम र बहाव नभएकै कारण सबैको सकुशल उद्धार सम्भव भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ।