सर्लाही, चैत -८, जिल्लाकाे लालबन्दी -१ नवलपुरमा बुधवार साँझ  बस र ट्रक एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ। 
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको हाे । 


गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि  वीरगन्ज लगिएको थियो। राति करिब  १०  वीरगन्जस्थित नारायणी अस्पतालमा उनको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुले जानकारी दिए ।
दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्। 
सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पजियारले जानकारी दिए ।


बुधबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी  १ नवलपुर बजारमा क्षेत्रमा  जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक एकआपसमा ठोक्किएकाे थियो । बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।