बारा,वैशाख -७,बारा निर्वाचन क्षेत्र नं. २ मा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले उठाएको उम्मेदवार अधिवक्ता अरुण ज्ञवालीलाई नेपाली कांग्रेसको पनि सहयोग हुने भएको छ ।
आसन्न उपनिर्वाचनको मुखमा आएर वैशाख ३ गतेका दिन कांग्रेस सभापति शेरबहादुर देउवाले औपचारिक पत्र मार्फत तनहुँ निर्वाचन क्षेत्र नं. १ मा गोविन्द भट्टराई र चितवन निर्वाचन क्षेत्र नं. २ मा जीतनारायण श्रेष्ठलाई विजयी बनाउन आम जनता पार्टीसंग सहयोग मागेका थिए ।

आज सोही विषयलाई केन्द्रित गर्दै आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साहले एक प्रेस विज्ञप्ति निकाल्दै कांग्रेसलाई आफुहरुको सहयोग रहने जानकारी गराएका छन् ।
प्रवक्ता साहले भने, ‘आजपाले बारा निर्वाचन क्षेत्र नं. २ मा उठाएको आम जनताका साझा उम्मेदवार विद्वान अधिवक्ता अरुण ज्ञवालीलाई विजयी बनाउन नेपाली कांग्रेसका सबै ईमानदार नेता – कार्यकर्ताहरुले पनि सोही बमोजिम स्वतः स्वस्फूर्त रुपमा हामीलाई पूर्ण साथ र सहयोग गर्नुहुने अपेक्षा एवम् दृढ विश्वास हामीले लिएका छौं ।’
त्यसैगरी, प्रवक्ता साहले जारी गरेको विज्ञप्ति मार्फत कांग्रेसका उम्मेदवारहरुलाई यस उपनिर्वाचनमा भरपूर साथ र सहयोग गर्न गराउन आम जनता पार्टीका सम्पूर्ण नेता – कार्यकर्तापंक्तिलाई सूचित समेत गरिएको छ ।









